काठमाडौं - सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु हुनुअघि सञ्चारकर्मीहरूलाई दृश्य संकलनमा रोक लगाइएपछि विवाद उत्पन्न भएको छ।
कार्यालय बाहिरबाट नियमित रूपमा भिडियो खिच्दै आएका सञ्चारकर्मीहरूलाई यसपटक भने सुरक्षाकर्मीहरूले रोकेका थिए। उक्त कदम वालेन्द्र शाह (बालेन) को निर्देशनपछि लिइएको बताइएको छ।
बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेनले कार्यालय परिसर बाहिरबाट भइरहेको भिडियो खिचाइप्रति असन्तुष्टि जनाउँदै सुरक्षाकर्मीलाई कडाइ गर्न निर्देशन दिएका थिए। त्यसपछि सुरक्षाकर्मीहरूले भिडियो पत्रकारहरूलाई तत्काल सो स्थान खाली गर्न र दृश्य संकलन नगर्न निर्देशन दिएका थिए।
घटनापछि सञ्चारकर्मीहरूले भने समाचार संकलनजस्तो आधारभूत कार्यमै अवरोध गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले सार्वजनिक सरोकारको स्थानमा सञ्चारमाध्यमलाई यसरी रोक लगाउनु प्रेस स्वतन्त्रताको दृष्टिले उचित नभएको टिप्पणी गरेका छन्।

