Harsamaya
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
जनकपुरधामका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै प्रदर्शन।

जनकपुर - जनकपुरधामका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै प्रदर्शन गरेका छन् । आज (बिहीबार) जनकपुरधाम उपमहानगरपालिकाका २३ विन्धीका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै बालेन सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन् । उनीहरूले ‘लालपुर्जा दे सरकार’, ‘घर भत्काउन पाइँदैन’, ‘डोजर आतंक बन्द गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

२० वर्ष पहिला वडाले जग्गा उपलब्ध गराएपछि घर निर्माण गरेर बसिरहेकोमा दुई हप्ता अघि वडा कार्यालयले जग्गा खाली गर्न सूचना टाँसेपछि आफूहरूको विचल्ली भएको सुकुमबासी सीता देवी मुखियाले जानकारी दिइन ।

उनले २० वर्षमा थोरथोरै पैसा जम्मा गरेर बनाएको घरमा अब सरकारले डोजर चलाउने भनेदेखि आफूहरू कहाँ जाने, छोराछोरीलाई कसरी पाल्ने भन्ने अन्योलमा परेको बताइन ।

वडा दिएको जमिनको लालपुर्जा प्रदान गर्न सुकुम्बासी मुखियाले जनकपुरधामका मेयर र प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन् । उनीहरूले लालपुर्जा उपलब्ध नगराए बाटो जाम गरेर सडकमा उत्रिने चेतावनी दिएका छन् ।

रास्वपा नेतृत्वको सरकारले देशभरका सार्वजनिक र गुठ्ठिको अतिक्रमित जग्गा खाली गराइरहेको छ । यसअघि सरकारले काठमान्डौ, वीरगन्जलगायतका स्थानमा अतिक्रमित जग्गा खाली गराएको छ भने अब जनकपुरधाममा पनि जग्गा खाली गराउन लागिएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update