Harsamaya
 ट्रम्पका विशेष दूत नेपाल आउँदै
दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर ।

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज नेपाल आउँदै छन् ।

उनी तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् । केही दिनअघि मात्र दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर नेपाल भ्रमण सकेर फर्किएपछि गोरको भ्रमण हुन लागेको हो।

गोरको मुख्य उद्देश्य प्रधानमन्त्रीसँग भेट गर्नु भए पनि त्यो अझै अनिश्चित छ। उनले यसअघि बङ्गलादेश, भुटान र श्रीलंकालगायत देशको भ्रमण गर्दै त्यहाँका उच्च नेतृत्वसँग भेट गरिसकेका छन्। 

यो भ्रमण पनि लगानी र आर्थिक सहकार्यमा केन्द्रित हुने बताइएको छ। कपुरको भ्रमणजस्तै एजेन्डा भए पनि गोर उच्च ओहदाका अधिकारी मानिन्छन् र ट्रम्पसँग नजिक रहेका प्रभावशाली व्यक्तिका रूपमा हेरिन्छ।

प्रधानमन्त्री बालेन शाह पदभार ग्रहण गरेको एक महिना बढी भइसक्दा पनि व्यक्तिगत रूपमा विदेशी अधिकारीसँग भेटघाट गरेका छैनन्।

उनले चैत २५ गते सामूहिक रूपमा राजदूतहरूसँग भेट गरेका थिए। सचिवालय स्रोतका अनुसार उनले राष्ट्र प्रमुख वा उच्च तहका मन्त्रीबाहेक अन्य अधिकारीसँग भेट नगर्ने मनस्थिति बनाएका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update