नेपाली कांग्रेसले कोसी, लुम्बिनी र मधेस प्रदेशका मन्त्रीसहित प्रदेशसभा सदस्य र सांसदसमेतलाई स्पष्टीकरण सोधेको छ । केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पार्टीको आधिकारिक उमेदवारविरुद्ध असहयोग गरेको भन्दै सातजनालाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
अध्यादेश शासन विरुद्ध राष्ट्रपतिलाई गुहार्दै चार दल: सरकारले संघीय संसदको अधिवेशन अन्त्य भएको केही दिनभित्रै संवैधानिक परिषद र सहकारी ऐन लगायतका महत्वपूर्ण विषयमा अध्यादेश ल्याउन सिफारिस गरेपछि विपक्षी दलहरूले यसको कडा विरोध गरेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठकले सरकारको यो कदमलाई अलोकतान्त्रिक र असंसदीय ठहर गर्दै तत्काल रोक्न माग गरेको छ । विपक्षीले संसदलाई उपेक्षा गरेर चोरबाटोबाट शासन चलाउन खोजेको भन्दै सरकारको तीव्र आलोचना गरेका हुन् ।
देशका विभिन्न स्थानमा वर्षा: नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली हुँदा देशका विभिन्न क्षेत्रमा आज वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबैभन्दा बढी वर्षा प्युठानको हंसपुरमा पछिल्लो १२ घण्टामै १०४.४ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो । २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा भएमा धेरै भारी वर्षामा गणना गर्ने गरिएको छ । आजै अन्य विभिन्न जिल्लामा भारी वर्षा भएको छ । विभागमा अभिलेख भएअनुसार कास्कीमा ८०, म्याग्दीमा ७८, तनहुँमा ७०, कपिलवस्तुमा ५०.८, चितवनमा ५४.६, सङ्खुवासभामा ५१.४ मिलिमिटर वर्षा भएको छ ।
विकल पौडेल दम्पतीविरुद्ध मुद्दा दायरः राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ ) प्रकरणमा विकल पौडेल दम्पतीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका अनुसार साविक कटुवाचौपारी–४ पर्वत स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–९ बूढानीलकण्ठ बस्दै आएका ४३ वर्षीय पौडेल र उनकी श्रीमती एलिना बस्नेतले अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको पाइएपछि उनीहरूमाथि कारबाही अघि बढाइएको हो ।
तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस: सरकारले थप तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ। यसअघि संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश र सहकारी ऐन सम्बन्धी अध्यादेश जारी गरिसकेको सरकारले पुनः नयाँ अध्यादेशहरू अघि बढाएको हो। सरकारका अनुसार नयाँ अध्यादेशहरू राष्ट्रपति कार्यालय पुगिसकेको स्रोतले पुष्टि गरेको छ। तीमध्ये स्वास्थ्य सेवा सम्बन्धी, केही नेपाल ऐन संशोधन सम्बन्धी र अर्को एक अध्यादेश समावेश रहेका छन्।
हावाहुरीको वितण्डाः पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७३ साल वैशाख १ गतेदेखि २०८२ माघ २५ गतेसम्मको अवधिमा कूल एक हजार ५१९ वटा हावाहुरीका घटना भएका छन् । उक्त अवधिमा हावाहुरीका कारण १०१ जनाले ज्यान गुमाएका छन् भने एक जना बेपत्ता भएका छन् । त्यस्तै, एक हजार ५७२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । आठ हजार ५०४ परिवार यस अवधिमा प्रभावित बनेका छन् । हावाहुरीबाट मानवीय क्षतिसँगै भौतिक क्षति पनि ठूलो मात्रामा हुने गरेको छ ।
सार्वजनिक यातायातको भाडा वृद्धि: यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो । यो समायोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति र विभागको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार गरिएको विभागले जनाएको छ । भाडा वृद्धिको मुख्य कारण डिजेलको बजार मूल्यमा भएको भारी बढोत्तरीलाई मानिएको छ ।

