काठमाडौं- राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ ) प्रकरणमा विकल पौडेल दम्पतीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार साविक कटुवाचौपारी–४ पर्वत स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–९ बूढानीलकण्ठ बस्दै आएका ४३ वर्षीय पौडेल र उनकी श्रीमती एलिना बस्नेतले अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको पाइएपछि उनीहरूमाथि कारबाही अघि बढाइएको हो ।
अनुसन्धानका क्रममा विदेशी विनिमय अपचलनतर्फ उनीहरूबाट ६२ करोड ६५ लाख ९१ हजार ८९३ रूपैयाँ बराबरको बिगो कायम गरी यसअघि नै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार २०८१ असोज १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
त्यसपछि गरिएको थप अनुसन्धानमा उनीहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार गैरकानूनी रूपमा आर्जित सम्पत्ति लुकाउने तथा प्रयोग गर्ने कार्य गरेको पुष्टि भएको विभागले जनाएको छ ।
यसअनुसार विकल पौडेललाई ६१ करोड १३ लाख २१ हजार १५३ रूपैयाँ २० पैसा र एलिना बस्नेतलाई ७ करोड ८१ लाख ४४ हजार ५१ रूपैयाँ ५० पैसा गरी कूल ६८ करोड ९४ लाख ६५ हजार २०४ रूपैयाँ ७० पैसा बराबरको बिगो कायम गरिएको छ ।

