Harsamaya
तातोपानी पुगेर मन्त्री लम्सालले भने -‘गाउँ जोखिममा भए बस्ती सारे भै हाल्यो नि’
 पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ।

सिन्धुपाल्चोक - पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विपद्को उच्च जोखिममा रहेका बस्तीका स्थानीयलाई जोखिममै राखेर बस्न दिन नसकिने बताएका छन् । तातोपानी नाकाको जाने सडकको निरिक्षण गर्दै लम्सालले यस्तो बताएका हुन् । उनले आवश्यक परे बस्ती नै स्थानान्तरण गरिने बताएका छन्।

पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले नागरिकको ज्यानको सुरक्षाभन्दा ठूलो कुरा केही नहुने बताए।

स्थानीयले गाउँ सार्न सहज नभएको र त्यसो गर्न सम्भव नदेखिएको गुनासो गरेपछि मन्त्री लम्सालले भने ‘स्थानीयलाई बस्ती जोखिममा राखेर केही पनि हुँदैन। आवश्यक परे गाउँ सारेर भए पनि बाटो खोल्नुपर्छ।’

छलफलका क्रममा उक्त जोखिमग्रस्त बस्तीमा ४२ घरधुरी रहेको जानकारी स्थानीयले दिएका थिए। मन्त्री लम्सालले जोखिमको प्राविधिक मूल्याङ्कनका आधारमा आवश्यक निर्णय गरिने, सुरक्षित बासस्थानको व्यवस्था गरिने र सडक सञ्चालनलाई समेत दीर्घकालीन रूपमा सुरक्षित बनाइने बताए।

उनले विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै जनधनको सुरक्षा सुनिश्चित गर्न सरकार आवश्यक सबै कदम चाल्न तयार रहेको बताउँदै स्थानीयलाई ढुक्क भएर सहयोग गर्न आग्रह गरेका थिए।

तातोपानी नाका पुग्ने कोदारी राजमार्ग वर्षा लागेसँगै बन्द हुने गरेको छ । भोटेकोशी गाउँपालिका क्षेत्रका ठाउँ ठाउँमा जाने पहिरोले आवागमनमा असर पुर्याएको हो।  इको पहिरोले वर्षेनि  दुख दिँदा व्यापारी तथा स्थानीय निराश बनेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update