काठमाडौं - मुलुकका विभिन्न भागमा पछिल्ला दिनमा बढ्दै गएको हिंसात्मक घटनाप्रति चासो व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई शीतलनिवास बोलाएर वर्तमान सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार बिहीबार भएको भेटमा राष्ट्रपति पौडेलले देशका विभिन्न स्थानमा उत्पन्न विषम परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकारका प्रयासबारे जानकारी लिएका हुन् ।
प्रधानमन्त्री शाहले सरकारबाट शान्ति–सुव्यवस्था कायम गर्न भइरहेका प्रयास, सुरक्षा व्यवस्थापन तथा परिस्थितिलाई सामान्य बनाउन चालिएका कदमबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
भेटका क्रममा राष्ट्रपति पौडेलले सबै राजनीतिक दल तथा सरोकारवाला पक्षलाई साथमा लिएर संयमतापूर्वक परिस्थितिलाई साम्य पार्न, संवादलाई प्राथमिकता दिन र सामाजिक सद्भाव कायम राख्न सरकारलाई सुझाव दिएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिएका छन्।
पछिल्ला दिनमा सुनसरी, सिरहालगायतका जिल्लामा भएका हिंसात्मक घटनापछि उच्च राजनीतिक तहमा चासो बढिरहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

