ललितपुर - ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बा.आ.अ. ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त स्कार्पियो एसओएस बालग्राम सानोठिमी, भक्तपुरको रहेको र त्यसमा कार्यालयका कर्मचारी सवार थिए।
दुर्घटनामा गम्भीर घाइते भएका चालक काठमाडौंको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्कार्पियोमा चालकसहित ६ जना सवार थिए। दुर्घटनामा घाइते भएका पाँच जनामध्ये चार जनाको ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको महाँकाल गाउँपालिका–२ मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था मध्यम रहेको जनाइएको छ।
बी एन्ड बी अस्पतालमा उपचाररत घाइतेहरूमा काठमाडौंको कोटेश्वर निवासी ३९ वर्षीया सस्मिता खतीवडा, नवलपरासीको गैंडाकोट घर भई हाल काठमाडौं बस्दै आएका ३५ वर्षीय भरत पौडेल, बर्दिया घर भई हाल काठमाडौं बस्दै आएकी ३६ वर्षीया डिना सोनाहा र नुवाकोट घर भई हाल काठमाडौं बस्दै आएका २६ वर्षीय देवेन्द्रराज पाण्डे रहेका छन्।
यस्तै, मानिखेल स्वास्थ्य चौकीमा काठमाडौंको कीर्तिपुर नगरपालिका–५ निवासी ३९ वर्षीय निशान महर्जन उपचाररत छन्।
दुर्घटनाग्रस्त स्कार्पियो घटनास्थलमै रहेको छ भने दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

