रौतहट - रौतहटको दुर्गा भगवती गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । दुर्गा भगवती गाउँपालिका-१, पिपराटोल बस्ने गौरीशंकर साह कलवारका ५ वर्षीय छोरा कृष साह कलवारको ज्यान गएको हो ।
घरबाट करिब १ किलोमिटर टाढा रहेको ब्रह्मस्थान नजिकैको पोखरीमा सोमबार साँझ करिब ६ बजे तिर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
बालक नुहाउने क्रममा पोखरीमा डुबेर बेपत्ता भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) को नेतृत्व मा प्रहरी टोली खटिएको थियो ।
प्रहरी टोलीले खोजी गर्ने क्रममा बालकलाई फेला पारी तत्काल उपचारका लागि स्थानीय बागमती सेन्ट्रल अस्पताल, गंगापिपरा पुर्याएको थियो । अस्पतालका चिकित्सकले जाँच गर्ने क्रममा साँझ ७ बजे बालकलाई मृत घोषणा गरेका थिए ।
मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, गौर राखिएको छ । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । गर्मी बढ्दै जाँदा जलाशय आसपास बालबालिकाको सुरक्षामा विशेष सतर्कता अपनाउन जरुरी देखिन्छ ।

