Harsamaya
वैशाख १३: बदलिएको काँग्रेसले संसदीय दलको नेता छान्न नसकेको देखि सरकारलाई हर्कको प्रश्न सम्म
ग्राफिक्सः हर समय/harsamaya

भोलिदेखि देशैभर सुरु हुन लागेको कक्षा १२ को परीक्षाको पूर्वसन्ध्यामा जाजरकोटका केही विद्यार्थी प्रवेशपत्र नआएका कारण परीक्षाबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । आवश्यक सबै प्रक्रिया पूरा गर्दा पनि प्रवेशपत्र नपाएपछि विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् । कुशे गाउँपालिका–२, टालेगाउँस्थित श्री मान्ने ढुंगा माध्यमिक विद्यालयका अनुसार यसवर्ष कक्षा १२ को परीक्षामा सहभागी हुने तयारीमा रहेका केही विद्यार्थीको प्रवेशपत्र हालसम्म नआएको हो । विद्यालय प्रशासनले सम्बन्धित निकायसँग सम्पर्क गर्न खोज्दा कुनै स्पष्ट जवाफ नआएको गुनासो गरेको छ ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

बदलिएको काँग्रेसले छान्‍न सकेन संसदीय दलको नेता: ‘बदल्यौं काँग्रेस बदल्छौं देश’ भनेर पार्टीभित्रै विद्रोह गरेको काँग्रेसलाई जनताले पत्याएनन् । नेतृत्वमा रहेका सभापति गगन थापालगायत पदाधिकारी सबै पराजित बने । संसदीय दल र प्रधानमन्त्रीसमेत घोषणा गरेर गएको काँग्रेसलाई जनताले पाखा लगाएपछि विशेष महाधिवेशनको औचित्यमाथि नै बहस भएको थियो । राजनीतिक रुपमा विशेष महाधिवेशनको औचित्य सकिएपनि सर्वोच्चले वैधता दिएपछि काँग्रेस नेतृत्वले लामो श्वास फेरेको छ । तर एक पछि अर्को समस्याले  पार्टी कमजोर भएको छ । राष्ट्रिय राजनीतिमा छायामा परेको काँग्रेस अहिले संसदीय दलको नेता छान्न नसकेर कोमामा पुगेको छ ।

हर्कको सरकारलाई प्रश्न: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार सामाजिक संजालमार्फत उनले सुकुमसीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो, भने प्रश्न गरे । उनले लेखेका छन्, ‘१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ? कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ ?’ उनले सुकुमबासी बस्ती भत्काएपछि जनता सडकमा रात बिताउन बाध्य भएको गुनासे बताए ।

‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः टोखा नगरपालिकाले सञ्चालन गरेको जन्मनासाथ पाँच हजार बच्चाको खातामा जम्मा गरिने कार्यक्रममा स्थानीयको सहभागिता न्यून देखिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रममा स्थानीयवासीको सहभागिता न्यून देखिएको हो । बालबालिकाको जन्मेपछि नगरपालिकाले रु पाँच हजार ती बालबालिकाको नाममा खाता खोली राखिने कार्यक्रम कम जनचासो भएकाले सहभागिता पनि न्यून देखिएको सरोकार भएकाहरू बताउँछन् । 

बुद्धिजीवीहरुसँग डा. शेखरले गरे छलफल: नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाका बारेमा केही बुद्धिजीवीहरुसँग छलफल गरेका छन् । कोइरालाले आफ्नो सम्पर्क कार्यलय बिशालनगरमा गरेको उक्त छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, बिष्णु बुढाथोकी, डा उद्धव प्याकुरेल, जेन्जी युवाहरु अभिजित अधिकारी र करिना पुरी लगायत सहभागी थिए । 

के हो ‘लालीबजार’: ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ । अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको उक्त फिल्मको सार्वजनिक पहिलो पोस्टरले नै दर्शकको ध्यान केन्द्रीत गरेको थियो । गर्भवती महिला शृंगार गरेर ढोकामा उभिएर हेरिरहेको पोस्टरले फिल्मको कथासार ब्याख्या गरेको थियो । सार्वजनिक ट्रेलर र गीतसङ्गीतका कारण प्रतिक्षित बनेको फिल्ममा स्वस्तिमाले बादी महिलाको भूमिका निर्वाह गरेकी छिन् । ‘बुलबुल’ र ‘चिसो मान्छे’ पछि स्वस्तिमालाई पात्रले चर्चामा ल्याएको फिल्म ‘लालीबजार’ लाई उनले आफ्नो अभिनय यात्राको ‘टर्नीङ प्वाइन्ट’ मानेकी छिन् ।

तेस्रो कृति दहाड लिएर आए नवीन अभिलाषी:  कवि, लेखक तथा पत्रकार नवीन अभिलाषीको तेस्रो कृति नयाँ कथासङ्ग्रह दहाड सार्वजनिक भएको छ।काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा  शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार नारायण ढकाल, समालोचक राजकुमार बानियाँ, निबन्धकार कुमारी लामा र स्वयं लेखक अभिलाषीले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन्।कार्यक्रममा बोल्दै ढकालले ‘दहाड’मा समेटिएका कथाहरू शक्तिशाली र प्रभावशाली रहेको उल्लेख गरे। इतिहासको धरातलमा उभिएर लेखिएका यी कथाहरू नयाँ पुस्ताले अनिवार्य पढ्नुपर्ने उनको भनाइ थियो।

 

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update