‘बदल्यौं काँग्रेस बदल्छौं देश’ भनेर पार्टीभित्रै विद्रोह गरेको काँग्रेसलाई जनताले पत्याएनन् । नेतृत्वमा रहेका सभापति गगन थापालगायत पदाधिकारी सबै पराजित बने । संसदीय दल र प्रधानमन्त्रीसमेत घोषणा गरेर गएको काँग्रेसलाई जनताले पाखा लगाएपछि विशेष महाधिवेशनको औचित्यमाथि नै बहस भएको थियो । राजनीतिक रुपमा विशेष महाधिवेशनको औचित्य सकिएपनि सर्वोच्चले वैधता दिएपछि काँग्रेस नेतृत्वले लामो श्वास फेरेको छ । तर एक पछि अर्को समस्याले पार्टी कमजोर भएको छ । राष्ट्रिय राजनीतिमा छायामा परेको काँग्रेस अहिले संसदीय दलको नेता छान्न नसकेर कोमामा पुगेको छ ।
काँग्रेसको संसदमा ३८ सिट छ । १६ प्रत्यक्ष जितेको काँग्रेसले २० सिट समानुपातिक मतबाट पाएको हो । इतिहासकै सानो बनेको काँग्रेसलाई निर्वाचन सकिएको ५२ दिनसम्म पनि संसदीय दलको नेता छान्न सकस परिरहेको छ ।
संसदीय दलको नेताका लागि मुख्यत: तीन जना आंकाक्षीको नाम आएका छन् । पुराना र पाका नेता अर्जुनरसिंह केसी, निवर्तमान सह-महामन्त्री भीष्मराज आङदेम्बे र मोहन आचार्य । नेतृत्वले अघि सारे संदसीय दलको नेता हुन्छु भन्नेमा निश्चल राई पनि छन् । तर मुख्यत केसी, आङदेम्बे र आचार्यकै नाम चर्चामा छ ।
केसी सभापति थापाका ससुरा हुन् । थापाको इच्छा र केसीको जिद केसी नै हुनुपर्छ भन्ने छ । केसीलाई बनाउन सके पार्टी सबैतिरबाट आफ्नै काबुमा रहने थापाको बुझाइ छ । तर केसीलाई बनाउँदा आफन्तवाद र परिवारवादको ट्याग लाग्ला भन्ने चिन्ता पनि छ । केसीको नाम थापाले प्रस्ताव गरेमात्रै पनि हिजोको नेतृत्वको विरोध गरेर विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका थापामाथि नै प्रश्न फर्कनेछन् । उनी त्यसको लागि भित्रि रुपमा तयार भएपनि बाहिर उनी आदर्शवान् देखिन चाहन्छन् । त्यसैले उनले आचार्यको चिट्टा फ्याकिरहेका छन् ।
सर्वसहमति भए केसी नै थापाको रोजाइ हुन् । उनी सांसदले नै बनाएको भनेर त्यो दोष सांसदहरूतिरै फ्याक्न चाहन्छन् । यसअघि निर्वाचन प्रकियामार्फत संसदीय दल छान्ने भनेर काँग्रेसले पुन सो प्रक्रिया स्थगित गरेर सर्वसहमतिको रटान लगाइरहेको कारण नै त्यही हो । दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ । समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल छन् ।
सहमतिमा दलको नेता छान्ने भनेर समय दिइएको सहमहामन्त्री प्रकाश स्नेहीले बताएका छन् । सहमति नभए निर्वाचन प्रक्रिया फेरि कहिले हुने भन्ने मिति तय छैन । दिइएको समयमा पनि सहमति नभए थापा मोहन आचार्यलाई निर्वाचन लडाउन चाहन्छन् । केसीलाई नै पार्टीले निर्णय गरेर संसदीय दलको उम्मेदवार बनाउँदा नाातावादको आरोप त उनले खेप्नुनै पर्छ उपसभापति शर्माको असहमति पनि उनले सुन्नु पर्ने छ ।
निर्वाचन हुने अवस्थामा सभापति थापा र उपसभापति शर्माको रोजाइ नै फरक छ । थापाले केसी र आचार्यलाई अघि सार्दा शर्मा भने आङदेम्बेलाई संसदीय दलको नेता बनाउन चाहन्छन् । आङदेम्बे र शर्मा दुवै कोशी प्रदेशका हुन् । आङदेम्बेलाई सपोर्ट नगर्दा भोलि कोशीमा आफूलाई गार्हो हुने शर्माको बुझाइ छ ।
बदल्यौं काँग्रेस बदल्छौं देश भनेर एकै बनेका थापा र शर्माबीच पार्टीमा विवाद होला भन्ने कसैले कल्पनासमेत गरेका थिएनन् । तर अहिले संसदीय दलको नेता चयनमा दुवै फरक कितामा उभिएका छन् । जसका कारण सहमतिको प्रयास पनि विफल भएको थियो भने थप दिइएको समयमा पनि सहमति हुन्छ भन्ने निश्चित छैन ।
निर्वाचन हुँदा थापाका उम्मेदवारलाई सहज छैन । अहिले पनि संसदीय संख्यामा थापाका भन्दा पूर्व सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालासँग नजिक रहेका सांसदहरूको संख्या धेरै छ । ३८ जनामा देउवा, कोइरालाका २२ जना सांसद छन् भने थापा पक्षका १६ जना छन् । उपसभापति शर्माका एक जना सांसद पनि थपिदा आङदेम्बे संसदीय दलको नेता हुने लगभग निश्चित छ । निर्वाचन नै भएको खण्डमा आङदेम्बेको पक्षमा २३ सांसद हुनेछन् भने थापाका उम्मेदवारको पक्षमा १५ सांसद हुनेछन् । निर्वाचन गराउँदा कुनै पनि हालतमा आफू पक्षका सांसद संसदीय दलको नेता नहुने भएपछि थापाले निर्वाचन प्रक्रिया लम्ब्याएका छन् ।
काँग्रेस लास र दासको पार्टी हैन भन्ने सभापति थापाले काँग्रेस लास र दासको बनाएका छन् । सिंगो कार्यसमितिमा लास र दास मात्रै छन् । त्यसैले थापाले गर्ने हरेक निर्णयमा उनीहरू मौन छन् । काँग्रेसको नेतृत्वमा अरु कोही रहँदा प्रश्न सोध्न पाइन्छ भन्ने नेतृत्व आफैंमाथि प्रश्नको वर्षा हुँदा चुपचाप छ । बदलिएको काँग्रेसको यो चालाले फेरि काँग्रेसको निर्णय क्षमता र कार्यशैली माथि नै प्रश्न उब्जिएको छ ।

