काठमाडौं - नेकपा एमालेकी सांसद सजिदा खातुन सिद्धिकीले सरकार र जनताको मागबीच सन्तुलन मिलाउनुपर्नेमा जोड दिएकी छन् ।
आइतबार न्यूज एक्सप्रेसले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले जनताको माग ‘डिमाण्ड साइड’ मा रहने र सरकार ‘सप्लाइ साइड’ मा बस्ने भएकाले यी दुईबीच तालमेल आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘जहिले पनि जनता डिमाण्ड साइटमा बस्ने हुन्छ भने सरकार सप्लाइ साइडमा बस्छ । यी दुई वटाको तालमेल मिलाउन जरुरी छ । तालमेल मिलेन भने फेल खान्छौं । त्यसकारण जहिले पनि सरकारको शिरमा बसेर काम गर्दा देश र जनताको मागलाई हेरेर अगाडि बढ्नुपर्छ ।’
सांसद सिद्धिकीले आफ्नो जिम्मेवारी पार्टीसँगै संसदमा रहेको उल्लेख गर्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘मेरो जिम्मेवारी पार्टीसँगै सदनमा छ । मैले काम गर्दा देश र जनता शिरमा हुनेछ , म र मेरो पार्टीले काम गर्दा हातखुट्टा काप्ने छैनन् र न्याय जनताको पक्षमा रहनेछ । सदनमा रहँदा कानुन, न्याय तथा मानव अधिकार समितिमा बसेर कार्ययोजना बनाउँदै छु।’
उनले आफू कर्णालीको आवाज र मधेशको सवाल बन्न चाहेको बताउँदै देशलाई सुन्दर, शक्तिशाली र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन चाहेको धारणा राखिन् ।

