भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्न पहलकदमी सुरु गरेको छ । समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुल गरी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा केन्द्रित रहेर आज चार्टर्ड एकाउन्टेन्टहरुसँग छलफल मन्त्रालयले गरेको थियो । यस्तै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी डा मनोज केसीसँग समेत छलफल गरिएको थियो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा: गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बुधबार सामाजिक सञ्जालमा लेख्दै जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै पछिल्ला दिनहरूमा आफ्नो शेयर लगायतका विषयमा नागरिकस्तरबाट उठेका प्रश्न, टिप्पणी तथा जनचासोलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन् । उनले पदभन्दा नैतिकता र जनविश्वासलाई ठूलो मान्ने बताउँदै निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न आफूले राजीनामा दिएको स्पष्ट पारेका छन् ।
नेप्सेमा गिरावट: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले घटेर बन्द भएको छ । पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको बजारले बुधबार पनि सोही लयलाई निरन्तरता दिएको हो। बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स भने ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ । परिसूचकमा सामान्य गिरावट आएपनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ ।
एक वर्ष कार्यकाल तोकिएको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भः मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ। २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ।
७७ वर्षको कम्युनिष्ट आन्दोलन: आज नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा विशेष महत्व बोकेको दिन । नेपालमा कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै छ । आजकै दिन वि.स. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो। त्यसैले हरेक वर्ष वैशाख ९ लाई ‘नेकपा स्थापना दिवस’का रूपमा मनाइन्छ । यो दिन केवल एउटा राजनीतिक दलको स्थापना भएको दिन मात्र होइन, नेपालमा वामपन्थी विचारधारा, वर्गसंघर्ष, सामाजिक न्याय र समानतामूलक समाज निर्माणको औपचारिक सुरुवात भएको ऐतिहासिक क्षण पनि हो ।
घरजग्गा कारोबारमा इजाजतपत्र प्राप्त कम्पनी अनिवार्य: महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्दा अब अनिवार्य रूपमा इजाजतपत्र प्राप्त कम्पनी वा संस्था मार्फत मात्र गर्नुपर्ने भएको छ। भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले एक सूचना जारी गर्दै मंगलबारदेखि यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएको जानकारी दिएको छ। मालपोत ऐन, २०३४ को दफा २६ (क) मा भएको व्यवस्था र नेपाल सरकारले २०८२ असोज २७ गते राजपत्रमा प्रकाशित गरेको सूचना बमोजिम यो नियम लागू गरिएको हो।
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आव्हान: संघीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गरिएको छ । सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आव्हान गरेका हुन् । १७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ ।
ओमानसँग नेपाल ए टोली पराजित: ओमान विरुद्धको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ए टोली पराजित भएको छ । काठमाडौँस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओमानले नेपाल ए लाई ७० रनले पराजित गरेको हो । ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ए ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २१० रनमा समेटियो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

