Harsamaya
नेप्सेमा गिरावट, कारोबार रकम भने पौने ८ अर्ब माथि
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले घटेर बन्द भएको छ । पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको बजारले बुधबार पनि सोही लयलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स भने ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ ।

परिसूचकमा सामान्य गिरावट आएपनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । मंगलबार ५ अर्ब ७७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँमा खरिदबिक्री भएको छ। यस दिन कुल १ लाख २१ हजार ४३३ पटक कारोबार भएको थियो ।

आज बजार घटे पनि तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो। यस्तै, झापा इनर्जीको शेयर मूल्य १४ प्रतिशत र गणपति लघुवित्तको मूल्य ९ प्रतिशतले बढेको छ ।

यता, होटल फरेष्ट इनको शेयर मूल्य भने १०.७५ प्रतिशतले घटेर सर्वाधिक गुमाउने कम्पनीको सूचीमा परेको छ । यसदिन कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ३२ करोड र सोलु हाइड्रोपावरको साढे ३१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटाको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ। बैंकिङ्ग, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि देखिएको छ। होटल तथा पर्यटन उपसमूह भने सर्वाधिक २.३६ प्रतिशतले घटेको छ भने व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update