Harsamaya
५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

झापा - कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त टोलीले आज बिहान करिब ११:३० बजे गोप्य सूचनाका आधारमा झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ जाँदै गरेको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका व्यक्तिबाट ५६३ दशमलव ६२० ग्राम खैरो हिरोइन बरामद गरिएको छ । साथै उनीहरूको साथबाट तीन थान मोबाइल र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले बताए । 

प्रनाउ खड्काका अनुसार पक्राउ पर्नेमा झापा गाउँपालिका–६ बस्ने २२ वर्षीय साफिक उलमियाँ र भारतको डिगलबैंक थाना–१ बस्ने २२ वर्षीय निसार आलम रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update