Harsamaya
बैशाख २ : सरकारले सम्पत्ति छानबिन आयोग बनाएको देखि समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल सम्म
ग्राफिक्सः हर समय/harsamaya

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५, सिद्धनाथमा निर्माणाधीन शीतभण्डार परियोजनामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको आरोपमा लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । लुम्बिनीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव अधिकारीसहित १६ जना र एक निजी कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ अन्तर्गत सञ्चालन गरिएको शीतभण्डार निर्माण अनुदान कार्यक्रममा गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी रकम भुक्तानी लिइएको पाइएको छ । 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

सरकारले बनायो सम्पत्ति छानबिन आयोग: सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्चका पूर्व न्यायाधीश पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, पूर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेको आयोग गठन गरेको हो । २०६२/०६३ पछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि आयोग बनेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

विकास र मनसुनजन्य जोखिममा जोड: प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सांसदहरूले आफ्ना क्षेत्र तथा समुदायका समस्या र समाधानका उपायबारे धारणा राखेका हुन् । कार्यक्रमपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी समानुपातिक सांसद खुस्बु ओलीले मनसुनको समयमा हुने आकस्मिक नदी कटान प्रमुख समस्या रहेको बताइन् । 

अमृत झा रिहा भए: इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार उनलाई बुधबार रिहा गरिएको हो ।इरानस्थित कन्सुलरसँग समन्वयपछि रिहाइ भएको उनको भनाइ छ । झा इजरायल–अमेरिका र इरानबीच तनाव सुरु हुनुअघि इन्धन लिन इरान पुगेका थिए । दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल लिएर फर्किने क्रममा नियन्त्रणमा परेका थिए । उनको रिहाइबारे परिवारलाई समेत जानकारी गराइएको छ । झा दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए ।

प्रधानमन्त्री कार्यालयले माग्यो सबै मन्त्रालयसँग सवारी साधनको विवरण: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूसँग भएका सवारी साधनको विवरण माग गरेको छ ।  बुधबार सबै मन्त्रालयलाई पत्र पठाउँदै प्रधानमन्त्री कार्यालयले २४ घण्टाभित्र सवारी साधनको विवरण उपलब्ध गराउन भनेको छ ।मन्त्रालय, अन्तर्गतका विभाग, कार्यालयमा प्रयोगमा रहेका र मर्मत भइरहेका दुई पाङ्ग्रे एवं चार पाङ्ग्रे सवारी साधनको विवरण पठाउन भनिएको छ । सवारी ब्रान्ड र मोडल,  सवारी साधन नम्बर, गियर सिस्टम, डिजेल/पेट्रोल वा विद्युतीय कुन हो त्यो खुलाउन भनिएको छ ।

सुनको मूल्य तीन लाख नाघ्यो:  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ६ हजार र चाँदी ३२० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २२० कायम भएको छ । गत सोमबार एक तोला सुन दुई लाख ९६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ९०० मा कारोबार भएको थियो । गत आइतबार दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९७५ कायम भएको थियो ।

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ : शिक्षाविद् प्राध्यापक डाक्टर राम प्रसाद दाहालले वर्तमान सरकारले शिक्षालाई राजनीतिबाट टाढा राख्न सुझाव दिएका छन् । उनले शिक्षालाई प्राज्ञिक उन्नयन, बौद्धिक विकास, बौद्धिक बहस र विश्वको बदलिंदो परिस्थिति अनुसार अगाडि बढाउनुपर्नेमा जोड दिए ।उनले भने, ‘वर्तमान सरकारले शिक्षालाई राजनीतिभन्दा टाढा राख्नुपर्छ । प्राज्ञिक उन्नयन, बौद्धिक विकास, बौद्धिक बहस र विश्वको बदलिंदो परिस्थितिअनुसारको शिक्षा ल्याउन सक्नुपर्छ । त्यस्तो शिक्षाले मात्र समाज बन्छ ।’कतिपय देशमा शिक्षा–स्वास्थ्य निःशुल्क गरेकाले नेपालमा पनि विद्यालय शिक्षा निःशुल्क गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update