चितवन - खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बैठकले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्ने निर्णय गरेपछि सो कार्य गर्न थालिएको हो ।
कार्यालय प्रमुख सञ्जय बरालका अनुसार ४४ हजार ५०० ग्राहकमध्ये महसुल नबुझाएकाको धाराको लाइन काट्न थालिएको हो । ‘कार्यालयले तीन करोड ७० लाख बक्यौता उठाउन बाँकी छ’, उनले भने । बोर्डले भरतपुर महानगरपालिका–१ देखि १६ सम्म र वडा नम्बर २२ लाई आफ्नो कार्यक्षेत्र बनाएर पानी वितरण गर्दै आएको छ ।
बक्यौता असुलीका लागि टोली बनाएर काम गर्न थालिएको प्रमुख बरालले बताए । टोलीले हालसम्म नौ ग्राहकको धाराको लाइन काटिसकेको छ । लामो समय महसुल नतिर्ने ३०० ग्राहकबाट २० लाख बक्यौता उठाउन बाँकी छ ।
ती ग्राहकले विगत पाँच वर्षदेखि बक्यौता रकम बुझाएका छैनन् । तीन महिनासम्म बक्यौता नतिरेका १३ हजार २५ ग्राहकबाट रु तीन करोड ५० लाख बक्यौता उठाउन बाँकी रहेको प्रमुख बरालले बताए ।
बक्यौता असुलीका लागि कार्यालयले ग्राहकलाई एसएमएस गर्ने, पत्रचार गर्नेलगायतका काम गर्न थालिएको छ । पत्राचारपछि बक्यौता असुलको क्रम वढेको छ ।
बोर्डले मासिक दुई करोड ७६ लाख लिटर पानी बिक्री गर्दै आएको छ । अहिले चोरी नियन्त्रण भए पनि ढल निकासका लागि नाला बनाउने, सडक मर्मतलगायतका कामले चुहावट भने नरोकिएको कार्यालयले जनाएको छ ।

