Harsamaya
बैशाख १ :  राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक भएको देखि पर्यटनको भर्जिन गन्तव्य कर्णाली सम्म
ग्राफिक्सः हर समय/harsamaya

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ आजदेखि सुरु गरेको छ । पार्टीका सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका-३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरेका हुन् । अभियानको सुरुआत गर्दै उनले सक्नेले यस अभियानमा सहयोग गर्न र नसक्नेले असहयोग नगर्न आग्रह गरेका छन्। ‘मैले पार्टी सभापतिका रूपमा भनेँ, एउटा सोचका साथ म आएको छु, यो काम सम्पन्न गर्ने हो, सक्नेले मलाई सहयोग गर्नुहोला, नसक्नेले कृपया मलाई असहज अवस्था सृजना नगरिदिनुहोला । कोही साथीहरू विशेष कारणले गर्दा आफ्नो ठाउँमा जान नसक्ने हुनुहोला, कोही नेपालबाहिर हुनुहुन्छ होला, कोही अशक्त हुनुहुन्छ, पार्टीले यो परिस्थिति बुझेको छ, त्यस्ता साथीहरूका लागि हामी विशेष व्यवस्था गर्छौं‚’ सभापति थापाले भने । 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

सार्वजनिक भयो 'राष्ट्रिय प्रतिबद्धतापत्र'को मस्यौदा: सरकारले शासकीय सुधारका लागि राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको छ । विभिन्न १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गर्दै सरकारले त्यसमा राजनीतिक दल र सरोकारवालाको सुझाव माग गरेको छ ।​ मस्यौदा उपर यही वैशाख १० गते भित्र राय/सुझाव पेश गर्न सम्बन्धित राजनीतिक दलहरूलाई आग्रह गरिएको छ । १८ वटा क्षेत्र समेटिएका बुँदामा आर्थिक क्षेत्रमा स्थायित्व र सुधार, कृषि क्षेत्रको सम्मान र आत्मनिर्भरता, पर्यटन र नागरिक उड्डयन, उर्जा विकास र उपयोग, खानी तथा खनिज, पूर्वाधार विकास क्षेत्र रहेका छन् ।

पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कर्णालीको पहिचान दिलाउने थुप्रै सम्पदा छन् । पर्यटकीय सम्भावना बोकेको प्रकृतीको भर्जिन गन्तव्यका रुपमा कर्णालीलाई लिन सकिन्छ । कर्णालीको भौगोलिक विकटता, सडक यातायातको पुहँचको अभाव र पर्यटकीय स्थलहरुको प्रचार प्रसार नहुँदा ती थुप्रै सम्पदा ओझेलमा परेका छन् । कर्णालीमा देशको सबैभन्दा ठूलो राराताल, ऐतिहासिक, काँक्रेविहार मन्दिर, पञ्चकोशी क्षेत्र, शे–फोक्सुण्डो ताल, कुपिण्डे र बुलबुले ताल, पचालझरना, सिंजा सभ्यता र ऐतिहासिक दरबार तथा देवलहरु छन् ।

नयाँ वर्ष २०८३ :  भित्तेपात्रो फेरिएसँगै नयाँ उत्साह र उमङ्ग बोकेर नयाँ वर्ष २०८३ दैलोमा आइपुगेको छ। कार्यव्यस्तता र सहरको कोलाहलबाट केही समय विश्राम लिएर परिवार तथा साथीभाइका साथ रमाइलो गर्ने सोचमा हुनुहुन्छ भने नेपालभित्रै यस्ता थुप्रै मनमोहक गन्तव्यहरू छन्, जसले तपाईंको नयाँ वर्षलाई अविस्मरणीय बनाउनेछ । अहिलेको मौसम न जाडो न गर्मी, अर्थात् घुमफिरका लागि ‘गोल्डेन सिजन’ हो। विगतका आन्दोलनका घाउहरू बिस्तारै निको हुँदै जाँदा नेपालका पर्यटकीय क्षेत्रहरू पुनः तङ्ग्रिएका छन् ।

बूढीगण्डकी र दूधकोसी आयोजना दश वर्षभित्र निर्माण गरिसक्ने: १२ सय मेगावाट क्षमताको बूढीगण्डकी, ६७० को दूधकोसीजस्ता ठूला आयोजना अबका १० वर्षभित्र निर्माण गरी उच्च विद्युत् खपत हुने उद्योग आकर्षित गर्ने सरकारको तयारी छ । सरकारले जारी गरेको ‘राष्ट्रिय प्रतिबद्धता’मा अबको दशकमा ३० हजार मेगावाट विद्युत्जडित क्षमताको लक्ष्य हासिल गर्न भूमि, वन तथा वातावरणलगायत कानुन परिमार्जन तथा नीतिगत सुधार गरिने उल्लेख छ । ‘सरकारबाट भायाबिलिटी ग्याप फन्डिङ उपलब्ध गराउँदै बूढीगण्डकी, दूधकोसीजस्ता ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकता दिइनेछ‚’ प्रतिबद्धतामा भनिएको छ‚ ‘ऊर्जा–आधारित ठूला उद्योगहरू जस्तै, स्टील, सिमेन्ट, जडीबुटी प्रशोधन, डाटा सर्भर स्टेसन तथा रासायनिक मल उद्योगलाई आकर्षित गरिनेछ।’

पाँच वर्षमा १५ लाख रोजगारी: सरकारले समृद्धिको आधारमा रोजगारी सिर्जना गर्न विभिन्न अभियानहरू सञ्चालन गर्ने भएको छ । सरकारले तयार पारेको ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदामा उक्त कुरा उल्लेख गरिएको छ ।‘नेपालमै बसेर विदेशी कम्पनी, निकाय वा रोजगारदाताका लागि काम गर्न पाउने व्यवस्था सुनिश्चित गर्न कानुनी र नीतिगत संशोधन गरी रिमोट वर्क, डिजिटल रोजगारी तथा सीमापार सेवा निर्यातलाई बढावा दिइनेछ,’ मस्यौदामा भनिएको छ । प्राथमिकता प्राप्त क्षेत्रहरू सूचना प्रविधि, निर्माण, पर्यटन, व्यावसायिक कृषि आदिमा नीतिगत सुधार गरी रोजगारीका थप अवसरहरू सिर्जना गरिने मस्यौदामा उल्लेख छ । 

नाइजेरियन टोलीमाथि मोरङको रोमाञ्चक जित: युवा समाज मोरङले जस्ट जोन एफसी नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै १६औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सोमबार राति सम्पन्न उद्घाटन खेलमा मोरङले संघर्षपूर्ण जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो। खेल सुरु भएको चौथो मिनेटमै श्रीजन गौतमले गोल गर्दै मोरङलाई अग्रता दिलाए। विपक्षी डिफेन्डरबाट रिबाउण्ड भएको बललाई सदुपयोग गर्दै उनले सुरुवाती दबाबलाई गोलमा परिणत गरेका थिए। तर, पहिलो हाफको ३५औं मिनेटमा डिबोला हामजामले बराबरी गोल फर्काउँदै नाइजेरियन टोलीलाई खेलमा फर्काए। डेबिड ओलवोको फ्रिकिक नियन्त्रण गर्न नसक्दा आएको अवसरलाई उनले जाली चुमाएका थिए। पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update