Harsamaya
चैत २८ : सरकारलाई प्रचण्डको चेतावनी देखि अर्थतन्त्रमा ‘जेनजी’ आन्दोलन र बाह्य द्वन्द्वको असर सम्म
ग्राफिक्सः हर समय/harsamaya

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलीया सहरको कोलाहलभन्दा केही टाढा रहेको स्थानमा पुग्दा लाग्छ, कुनै शान्त ग्रामीण भेगको गाउँमा आइपुगियो । यही मुजेलीयाको एउटा बस्तीमा ४ धुर जमिनमा बनेको एकतल्ले सानो घर छ । घरको मोहडामा ग्रिल लागेको एउटा झ्याल छ । बाहिरबाट हेर्दा अत्यन्तै साधारण देखिने यही घरकी सदस्य हुन् २५ वर्षीया रुबी कुमारी ठाकुर । उनी हालै संघीय संसद्को प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् । रुबी उपसभामुख बनेसँगै अहिले यो सानो घर र मुजेलीया गाउँ देशभरकै चर्चाको केन्द्र बनेको छ ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

प्रचण्डको चेतावनीः नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानमा छेडखान गर्नेतर्फ सरकार अगाडि बढेमा प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले शनिबार आयोजना गरेको कार्यक्रममा उनले संविधानमा छेडखान र राष्ट्रिय हितमा आँच आउने काम भएमा सडक र सदन दुवैबाट प्रतिकार गर्ने बताएका हुन् ।'सरकारले संविधान भित्र रहेर काम गरेमा त्यसमा हाम्रो साथ रहन्छ,' उनले भने, 'तर संविधानमाथि छेडखान हुन थाल्यो, राष्ट्रिय हितमा आँच आउन थाल्यो, जनताले पाएका हक-अधिकार खोज्ने गतिविधि हुन थालेमा सदन भित्रबाट पनि सदन बाहिरबाट पनि त्यसको प्रतिकार गर्छौं ।'

अर्थतन्त्रमा ‘जेनजी’ आन्दोलन र बाह्य द्वन्द्वको असर: नेपालको अर्थतन्त्रले पछिल्लो समय आन्तरिक राजनीतिक हलचल र अन्तर्राष्ट्रिय भू–राजनीतिक तनावको दोहोरो मार खेप्नुपरेको छ । एसियाली विकास बैंक (एडिबी) को पछिल्लो प्रतिवेदनले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर निकै सुस्त अर्थात् २.७ प्रतिशतमा मात्रै सीमित हुने प्रक्षेपण गरेको छ । यो तथ्याङ्कले सरकारले राखेको लक्ष्यलाई मात्र चुनौती दिएको छैन, बरु गत वर्षको ४.६ प्रतिशतको वृद्धिलाई समेत निकै तल झारिदिएको छ । 

उजुरीका छानबिन गर्न समिति गठन: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको मूल्य वृद्धि सम्बन्धी उजुरीको छानबिन गर्न समिति गठन गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रानुसार औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानूनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भन्ने उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो। मन्त्रालयको निर्णयअनुसार अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठ को संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा कानून शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विषय विज्ञ कविन मलेकु सदस्य रहेका छन्।

इस्लामावादमा अमेरिका–इरान वार्ता: पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच वार्ता शुरू भएको छ । पाकिस्तानी सरकारी स्रोतका अनुसार वार्ता साँझ चार बजे शुरू भएको हो । स्रोतहरूले जनाए अनुसार अमेरिका–इरानबीचको वार्ता इस्लामावादस्थित सेरेना होटलमा भइरहेको छ । शुरूआती चरणमा वार्ता मध्यस्थमार्फत् भइरहेको छ, जसअनुसार पाकिस्तानी अधिकारीहरूले दुवै देशबीच सन्देश आदान–प्रदान गरिरहेका छन् । वार्ता सकारात्मक रूपमा अघि बढेमा दुवै देशबीच प्रत्यक्ष संवाद पनि हुन सक्ने बताइएको छ ।

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने: वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने भएको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले रसिदलगायत कागजात पेस गर्नुपर्ने जनाएको थियो ।

बिस्का जात्राको दोस्रो दिन : बिस्का जात्राको दोस्रो दिन आज भक्तपुरमा धुमधामका साथ मनाइँदै छ। आज दोस्रो दिन भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै छ । लिच्छविकालदेखि सुरु भएको यो जात्रामा आज स्थानीय बासिन्दाहरूले तौमढीस्थित भैरवनाथ र भद्रकालीको रथमा पूजाआजा गर्नुका साथै दर्शन गर्दछन् । अघिल्लो रात तानिएको रथलाई आज गःहिटीमा राखिने छ । जात्रालाई व्यवस्थित बनाउन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने स्वयंसेवकहरू समेत परिचालन गरिएको छ। आठ दिन नौं रातसम्म चल्ने यो जात्रा धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते: बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका–५ का ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। सो घटनामा मोटरसाइकल चालक उनका छोरा सुदीप रावत गम्भीर घाइते भएका छन्।

 

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update