काठमाडौं - वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने भएको छ ।
वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले रसिदलगायत कागजात पेस गर्नुपर्ने जनाएको थियो ।
‘वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आधारभूत कागजातबाहेक नेपाली श्रमिकले नेपालबाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ‚’ अध्यागमन विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
विभागले विदेश यात्रा गर्ने नेपाली नागरिक कुनै पनि किसिमको भ्रममा नपरी गन्तव्य मुलुक र यात्राका बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ । ‘भिजिट भिसा’मा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकले कम्तीमा ६ महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुक प्रवेशको अनुमति (भिसा) भएमा स्वघोषणासहित विदेश जान पाउने व्यवस्था यसअघिदेखि नै कार्यान्वयनमा रहेको विभागले जनाएको छ ।

