Harsamaya
इस्लामावादमा अमेरिका–इरान वार्ताकै बिच ट्रम्पले दिए अर्को चेतावनी
फाइल तस्वीरः हर समय/harsamaya

इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच वार्ता शुरू भएको छ ।

पाकिस्तानी सरकारी स्रोतका अनुसार वार्ता साँझ चार बजे शुरू भएको हो । स्रोतहरूले जनाए अनुसार अमेरिका–इरानबीचको वार्ता इस्लामावादस्थित सेरेना होटलमा भइरहेको छ ।

शुरूआती चरणमा वार्ता मध्यस्थमार्फत् भइरहेको छ, जसअनुसार पाकिस्तानी अधिकारीहरूले दुवै देशबीच सन्देश आदान–प्रदान गरिरहेका छन् । वार्ता सकारात्मक रूपमा अघि बढेमा दुवै देशबीच प्रत्यक्ष संवाद पनि हुन सक्ने बताइएको छ ।

वार्ताका लागि इरानी प्रतिनिधिमण्डल शुक्रबार राति इस्लामावाद पुगेको थियो भने अमेरिकी टोली शनिबार बिहान पुगेको हो । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त संघर्षमा इरान गम्भीर रूपमा हारिरहेको दाबी गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै केही सञ्चारमाध्यमले इरान जितिरहेको देखाउन खोजे पनि वास्तविकता त्यस्तो नभएको बताएका छन् । उनले आफ्नो प्रशासनका दाबी दोहोर्‍याउँदै इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, राडार, मिसाइल तथा ड्रोन उत्पादन संरचना धेरै हदसम्म नष्ट भएको उल्लेख गरेका छन् । साथै, इरानका लामो समयदेखिका नेतृत्वसमेत समाप्त भइसकेको दाबी उनले गरेका छन् ।

इरानले समुद्री बारूदी सुरुङ बिछ्याएको उल्लेख गर्दै ट्रम्पले अब अमेरिका ‘विश्वका देशहरूको हितका लागि’ होर्मुज जलडमरूमध्य सफा गर्ने कार्यमा लागेको बताएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update