Harsamaya
चैत २६ : १४ दिनमै श्रममन्त्री  पदमुक्त देखि सुनचाँदीको मूल्य बढेको सम्म
ग्राफिक्सः हर समय/harsamaya

फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र असिनासहितको वर्षाले खेतबारी उजाड बनाएको छ । मुख्य खाद्यान्न र नगदेबालीका रूपमा रहेको मकैदेखि तरकारी, फलफूल र माहुरीपालनसम्ममा यसको असर परेको छ । जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार कृषि क्षेत्रमा फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्मको अवधिमा मात्रै रु ३ अर्ब १९ करोड २९ लाख ८२ हजार बराबरको क्षति भएको छ । यसबाहेक १ अर्ब ७२ करोड ७३ लाख ७४ हजार ६ सय रुपैयाँ बराबरको बाली पूर्ण रूपमा नष्ट भएको छ । 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

१४ दिनमै श्रममन्त्री  दिपककुमार साह पदमुक्त: प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् ।रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।

रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो : श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको लागि उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरले ठूलो जिम्मेवारी भएपनि आफूले पूरा गर्न सक्ने बताएकी छिन् । बिहीबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले कल्पना पनि नगरेको ठाउँमा पार्टी अध्यक्ष हर्क राईले पुर्याएको भन्दै खुसी व्यक्त गरिन् ।

५० उपसचिव र १८ शाखा अधिकृतको जिम्मेवारी हेरफेर: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयले चैत २०, २३, २५ र २६ गतेको विभिन्न मन्त्रीस्तरीय निर्णयअनुसार कुल ६८ जना राजपत्राङ्कित कर्मचारीहरूको सरुवा र पदस्थापना गरेको हो। सरुवा भएका उपसचिवहरूलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ.) का रूपमा र विभिन्न मन्त्रालय, विभाग तथा आयोगहरूमा जिम्मेवारी दिइएको छ।

नेपालबाट कहिले बाहिरिन्छ पानी पार्ने प्रणाली ?: पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली बुधबार साँझ पूर्व पुगेको हो । अहिले उक्त प्रणाली बाहिरिनेक्रममा रहेको छ ।  तर पूर्वका विभिन्न ठाउँमा अहिले पनि वर्षा भइरहेको छ । उक्त प्रणाली आज रातिदेखि बाहिरिने र प्रिमनसुनका गतिविधि भने कायम रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु: बुधबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । उनीहरुको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन् । चैत २५ मा साँझ उनीहरूमाथि चक्कु प्रहार भएको थियो ।

सुनचाँदीको मूल्य बढ्यो: नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ७ सय रुपैयामा कारोबार भएको छ । बुधबार सुनको मूल्या २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको बढेको छ । आज चाँदीको मूल्य ४ हजार ८ सय ७५ रुपैयामा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य ४ हजार ८ सय २० रुपैयाँ पुगेको थियो ।

सार्वजनिक यातायातको बढ्यो भाडाः यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। विभागले अत्यन्त जरुरी सूचना जारी गर्दै नयाँ भाडादर लागू गरिएको जनाएको हो। विभागका अनुसार विभिन्न १३ सूचकको विश्लेषण तथा इन्धनको मूल्यमा आएको परिवर्तनका आधारमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा स्वतः समायोजन गरिएको हो। विशेषगरी डिजेलको मूल्यमा भएको वृद्धिलाई मुख्य आधार मानिएको उल्लेख गरिएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update