बुटवल - रुपन्देहीमा लागूऔषध ओसारपसार नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् भने पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा शंकास्पद मोटरसाइकल रोकेर चेकजाँच गर्ने प्रयास गर्दा सवार व्यक्तिहरू भाग्न खोजेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा ढुंगा प्रहार भएपछि प्रहरीले आत्मरक्षाका लागि दुई राउण्ड गोली चलाएको जनाएको छ ।
गोली लागेर घाइते हुनेमा रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव रहेका छन् । उनको बाँया खुट्टाको पिँडुलामा गोली लागेको र भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सो घटनामा भारतको महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट फेनरागन, डाइजेपाम र ब्रुफिनसहित ठूलो मात्रामा लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच, काठमाडौंको पिंगलास्थान क्षेत्रमा पनि लागूऔषध कारोबारको आशंकामा प्रहरीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

