Harsamaya
९८५ फरार प्रतिवादी बाट ६ करोड बढी जरिवाना असुल,  ४ सय ९९ वर्ष कैद सजाय
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - नेपाल प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिएको छ ।  चालू आर्थिक वर्षको फागुन महिनामा मात्रै देशभरबाट ९८५ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा धेरै मधेश प्रदेशबाट २६३ जना रहेका छन् । यस्तै, कोशी प्रदेशबाट १७६, बागमती प्रदेशबाट ६५, गण्डकीबाट ६९, लुम्बिनीबाट ८६, कर्णालीबाट १० र सुदूरपश्चिमबाट ५९ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यकाबाट मात्रै २५४ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिहरूमार्फत कुल ६ करोड ९० लाख ५५ हजार ६७८ रुपैयाँ बराबरको जरिवाना असुल भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये कोशी प्रदेशमा सबैभन्दा बढी १ करोड ८६ लाख ६९ हजार ९३७ जरिवाना संकलन गरिएको छ । यस्तै मधेश प्रदेशबाट ३१ लाख ३६ हजार ५९७, बागमतीबाट १ करोड २२ लाख ४० हजार ७६०, गण्डकीबाट १ करोड ३८ लाख २७ हजार ३०२, लुम्बिनीबाट ३९ लाख ६३ हजार ६०९, कर्णालीबाट २१ लाख १६ हजार, सुदूरपश्चिमबाट ५ लाख ३२ हजार २८७, काठमाडौं उपत्यकाबाट १ करोड ३१ लाख ८९ हजार १३६ जरिवाना संकलन गरिएको छ । 

यस अवधिमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले समेत ३ जना फरार प्रतिवादी पक्राउ गरी करिब १३ लाख ८० हजार ५० रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका फरार प्रतिवादीहरूले कुल ४ सय ९९ वर्ष ७ महिना २९ दिन कैद सजाय भुक्तान गर्नुपर्ने रहेको छ ।

नेपाल प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update