काठमाडौं महानगरपालिकाले २०७४ सालपछि शिक्षा समितिले गरेका निर्णय कार्यान्वयनको समीक्षा थालेको छ । समितिका अध्यक्ष एवं कार्यवाहक महानगर प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा आज बसेको बैठकमा शिक्षा अधिकृत केशव ज्ञवालीले गएको आठ वर्षमा समितिले गरेका मुख्य मुख्य निर्णय र त्यसको कार्यान्वयन अवस्थाका विषयमा प्रस्तुतीकरण गरेका हुन् ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।.
लामिछानेको रिट आज पनि ‘हेर्दाहर्दै’मा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधनविरुद्धको रिट निवेदनमा बिहीबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा बिहीबारका लागि सुनुवाइ हुने भएको अदालतका प्रवक्ता अजुनप्रसाद कोइरालाले जानकारी दिए। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरू भए पनि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।
विशेष अदालतको आदेशः विशेष अदालतले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसँग २५ लाख रूपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त मल्ल र उमेश कोइरालाको इजलासले मंगलबार अधिकारीसँग २५ लाख धरौटी माग्ने आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही चैत १ गते अधिकारीसहित द कुटि रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं शेयरधनी देवेन्द्र केसी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० का रविन्द्र लामिछानेविरुद्ध विशेष अदालतमा आरोपपत्र दायरगरेको हो ।
क्षयरोगका बिरामीको संख्या बढ्दो: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसले नेपालजस्तो विकासोन्मुख देशका लागि केवल औपचारिकता मात्र नभई गम्भीर चेतावनी पनि बोकेको छ । क्षयरोग (टीबी) अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा विद्यमान छ । जसले हजारौँ नेपालीको जीवन प्रभावित बनाइरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका उपसचिव कपिलप्रसाद तिमल्सेनासँग हर समयले गरेको विशेष कुराकानी गरेको छ । कुराकानीको सुरुवातमै तिमल्सेनाले क्षयरोगको वर्तमान अवस्थाबारे स्पष्ट पार्दै नेपालमा क्षयरोगका बिरामी घट्नुको साटो बढिरहेको बताए ।
पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकामा भएको सडक निर्माण योजनामा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सव–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी तथा निर्माण व्यवसायी मान बहादुर बोहरा विरुद्ध ८ लाख ४८ हजार ९६२ रुपैयाँ बिगो मागदाबी गर्दै मंगलबार मुद्दा दायर गरिएको हो।
सुनको मूल्य घट्यो: नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य २ लाख ७५ हजार ५ सय रुपैयँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ ।
ठगी आरोपमा पक्राउ: शिवराज कार्की ठगी आरोपमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले मंगलबार काठमाडौंको स्वयम्भू क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार ‘अमेरिका लगिदिन्छु’ भन्दै केही व्यक्तिसँग रकम असुल गरेको उजुरीका आधारमा कार्कीलाई पक्राउ गरिएको हो। उनी फिल्म तेल भिसाका निर्माता हुन्।

