काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकामा भएको सडक निर्माण योजनामा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सव–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी तथा निर्माण व्यवसायी मान बहादुर बोहरा विरुद्ध ८ लाख ४८ हजार ९६२ रुपैयाँ बिगो मागदाबी गर्दै मंगलबार मुद्दा दायर गरिएको हो।
वडा नम्बर ९ स्थित बागथला–धारी डोबा सडक निर्माण योजनामा ग्याबिन र मेसिनरी कार्य नगरी पनि सम्पन्न भएको देखाएर भुक्तानी दिएको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । सो क्रममा योजनाअन्तर्गत निर्माण कार्य सम्झौताअनुसार सम्पन्न नभए पनि झुट्टा बिल तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी निर्माण व्यवसायीलाई बढी भुक्तानी दिएको पाइएको आयोगले जनाएको छ।
आरोपपत्रअनुसार नापी किताबमा ३३८ मिटर लम्बाइको सिँचाइ क्यानल निर्माण भएको उल्लेख भए पनि स्थलगत निरीक्षणमा २४८ मिटर मात्र पाइयो। साथै, ह्युम पाइप कल्भर्ट तथा सम्बन्धित मेसनरी संरचना फिल्डमै नभेटिएको भन्दै प्रतिवादीहरूले मिलेमतोमा गलत प्रतिवेदन तयार पारी सरकारी रकम हिनामिना गरेको दाबी गरिएको छ।
उक्त प्रकरणमा संलग्न सबैलाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

