नेपाली कांग्रेसले २०८३ सालको दशैं अगाडि नै नियमित महाधिवेशन गर्ने तयारी गरेको छ ।कांग्रेसको केन्द्रीय समिति बैठक भोलि अर्थात् चैत १० बाट शुरू हुँदै छ । उक्त बैठकमा पार्टी सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनका लागि कार्यतालिका पेस गर्ने तयारी गरेका छन् । एक पदाधिकारीले दिएको जानकारीअनुसार १५औं महाधिवेशन दशैं अघिनै सम्पन्न गर्ने गरी तयारी भएको छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।.
मंगलबार सुनुवाइ हुने: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आज सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको हो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज सुनुवाइ नकिएपछि हेर्दाहेर्दैमा मङ्गलबारका लागि राखिएको अदालतका प्रवक्ता अजुनप्रसाद कोइरालाले जानकारी दिए ।
ट्रम्पको घोषणाः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्वको पूर्ण र समग्र समाधानका विषयमा उपयोगी वार्ता भएको बताएका छन् । उनले इरानका ऊर्जा संरचना र विद्युत् उत्पादन केन्द्रमाथि हुने सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत पछिल्ला दुई दिनमा अमेरिका र इरानबीच गहिरो, विस्तृत र रचनात्मक वार्ता भएको बताएका छन् । उनले उक्त वार्ता सकारात्मक दिशातर्फ अघि बढेको उल्लेख गरेका छन् ।
एमालेले भन्योः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। ‘ती सुझावका आधारमा हामीले बैठकबाट पनि निर्वाचनको समीक्षा गर्नेछौँ‚’ उनले भने । उनका अनुसार एमालेले निर्वाचनको समीक्षा गर्नका लागि चाँडै सचिवालय बैठक र केन्द्रीय कमिटी बैठक बोलाउनेसमेत तयारी गरेको छ ।
प्रगति विवरण सार्वजनिक: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालय सम्हालेको छोटो समयमै नीतिगत सुधार, सेवा प्रवाह तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् । मन्त्री श्रेष्ठले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा आफ्नो कार्यकाल छोटो भए पनि यो अवधि अत्यन्त बृहद र सिकाइले भरिपूर्ण रहेको उल्लेख गरिन । यसअघि पर्यटन क्षेत्रमा काम गर्दाको अनुभवका आधारमा महिला, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दाहरूमा जानकार भए पनि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ती विषयहरूलाई अझ गहिराइमा बुझ्ने अवसर प्राप्त भएको उनको भनाइ छ ।
भुटानमाथि नेपालको जित: बीस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित गरेको छ ।माल्दिभसको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि २-१ को जित हासिल गरेको हो । नेपालको जितमा सुजन डङ्गोल र सुवास वमले समान एक–एक गोल गरे । यता भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काए ।खेलको पाँचौँ मिनेटमा सुजनले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५२औँ मिनेटमा सुवासले गोल गर्दै नेपाललाई २-० गोलको अग्रता बनाए ।
भत्कियो प्रसूति केन्द्रको भवन: रामेछापको सुनापति गाउँपालिका– १ गुन्सीमा निर्माण गरिएको प्रसूति केन्द्रको भवन सञ्चालनमा नै नआई भत्किएको छ । संघीय सरकारको बजेट करिब २ करोडको लागतमा निर्माण भएको सो भवन प्रयोगमा नै नआई भत्किएको हो । स्वास्थ्य चौकीको भवनको तल्लोपट्टिको चौर खारेर बनाइएको भवनको मुनि खनिएको सडक र माथिबाट खारेको दुवैतिरबाट पहिरो चलेपछि पहिरोले तानेर र पुरिएर भवन भत्किएको हो । दुई तल्ले सो भवनको जगदेखिको भाग पहिरोको कारण भत्किएर चिरा–चिरा परेको छ । भवनको माथिबाट पनि पहिरो झरेर भवनमा क्षति पुर्याएको छ ।

