इटहरी - समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु-याउने व्यक्तित्व तथा संस्थाहरूलाई आज कोशी एक्सिलेन्स अवार्डले सम्मान प्रदान गरिएको छ । बीमा, बैंकिङ, शिक्षा, सूचना प्रविधि, उद्यमशीलता, संगीत, स्वास्थ्य, कृषि, खेलकुददेखि पत्रकारितासम्मका विधामा योगदान पु-याउनेहरूलाई सम्मान गरिएको हो ।
सन्तोष प्रसाई (बीमा विधा)
बीमा क्षेत्रको विकास, नियमन र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रसाई कुशल व्यवस्थापकका रूपमा परिचित छन्। बीमा समितिमा कार्यरत रहँदै नीति निर्माणमा योगदान दिएका उनले पछि निजी क्षेत्रमा प्रवेश गरी जीवन बीमा कम्पनीहरूमा सफल नेतृत्व प्रस्तुत गर्दै क्षेत्रलाई नयाँ उचाइमा पु-याएका छन्।
सन्तोष कोइराला (बैंकिङ विधा)
तल्लो तहबाट बैंकिङ यात्रा सुरु गरी प्रमुख कार्यकारी अधिकृतसम्म पुग्न सफल कोइराला नेपाली बैंकिङ क्षेत्रका प्रेरणादायी व्यक्तित्व मानिन्छन्। अनुशासन, मेहनत र दूरदर्शी नेतृत्वका कारण उनले बैंकिङ सेवाको विस्तार, संस्थागत सुधार तथा आधुनिक व्यवस्थापन प्रणाली विकासमा उल्लेखनीय योगदान दिएका छन्।
उमेश श्रेष्ठ (शिक्षा विधा)
तीन दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा सक्रिय श्रेष्ठ गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा समर्पित शिक्षाविद् हुन्। विभिन्न शैक्षिक संस्थाहरूको स्थापना र नेतृत्व गर्दै उनले हजारौं विद्यार्थीको भविष्य निर्माणमा योगदान दिएका छन्। शिक्षा प्रणालीलाई व्यवहारिक र जीवनोपयोगी बनाउने अभियानमा उनको भूमिका महत्वपूर्ण मानिन्छ।
सरोज राउत (सूचना प्रविधि विधा)
प्रविधि नवप्रवर्तनमार्फत सवारी साधन सुरक्षा र व्यवस्थापन प्रणाली विकास गरेका राउत युवा उद्यमीका रूपमा परिचित छन्। ‘ट्र्याकसन’ प्रणालीमार्फत सरकारी तथा निजी संस्थालाई आधुनिक प्रविधि सेवा प्रदान गर्दै उनले नेपाली प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सफल भएका छन्।
रक्तिम जोशी प्याकुरेल (उद्यमशीलता विधा)
सौन्दर्य सेवा, सीपमूलक शिक्षा र महिला सशक्तिकरणलाई एकैसाथ अघि बढाएकी प्याकुरेल सफल उद्यमीका रूपमा स्थापित भएकी छन्। उनले सञ्चालन गरेको एकेडेमीमार्फत सयौं महिलालाई तालिम दिई आत्मनिर्भर बन्न प्रेरित गरेकी छन्। उद्यमशीलता र सामाजिक सशक्तिकरणमा उनको योगदान उल्लेखनीय मानिन्छ।
प्रमोद खरेल (संगीत विधा)
हजारौं गीतमा स्वर दिँदै नेपाली संगीत क्षेत्रमा लोकप्रियता हासिल गरेका खरेल भावपूर्ण गायनका लागि चर्चित छन्। विभिन्न विधाका गीतमार्फत श्रोता–दर्शकसँग गहिरो सम्बन्ध स्थापित गरेका उनले रियालिटी शोमार्फत नयाँ प्रतिभालाई मार्गदर्शन गर्दै सांगीतिक क्षेत्रमा दीर्घकालीन योगदान दिएका छन्।
नरकुमार श्रेष्ठ (स्टार्टअप विधा)
सानो लगानीबाट व्यवसाय सुरु गरी अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सफल श्रेष्ठ युवा उद्यमीका रूपमा परिचित छन्। ‘माया बुटिक’मार्फत रोजगारी सिर्जना गर्दै उनले स्वदेशमै सम्भावना खोज्न युवालाई प्रेरित गरेका छन्। संघर्ष, आत्मविश्वास र निरन्तर प्रयास उनको सफलताको आधार मानिन्छ।
मोती दुगड (कर्पोरेट विधा)
नेपाली उद्योग तथा कर्पोरेट क्षेत्रका अग्रणी व्यक्तित्व दुगडले विभिन्न उद्योग र व्यवसाय स्थापना गर्दै हजारौंलाई रोजगारी दिएका छन्। स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने अभियानमा उनको भूमिका महत्वपूर्ण मानिन्छ। कर्पोरेट नेतृत्व र आर्थिक योगदानका आधारमा उनलाई सम्मान गरिएको हो।
दिनबन्धु गोयल (सामाजिक विधा)
मानव सेवा र सामाजिक कार्यमा समर्पित गोयल समाजसेवी व्यक्तित्वका रूपमा परिचित छन्। विपन्न परिवारका बालबालिकाको शिक्षा, स्वास्थ्य सहयोग तथा विभिन्न सामाजिक अभियानमार्फत उनले दीर्घकालीन योगदान दिएका छन्। परोपकार र सामाजिक उत्तरदायित्वमा उनको भूमिका उल्लेखनीय मानिन्छ।
डिल्लीराज उप्रेती (कृषि विधा)
वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै कृषि उद्यम सुरु गरेका उप्रेती उदाहरणीय कृषकका रूपमा चिनिन्छन्। आधुनिक कृषि प्रविधि प्रयोग गर्दै नर्सरी तथा पुष्प व्यवसाय विस्तार गरी उनले आत्मनिर्भरता र कृषि उद्यमशीलताको नयाँ सम्भावना देखाएका छन्। उनका प्रयासले धेरै युवालाई प्रेरणा दिएको छ।
चूडामणि चापागाईं (पुँजी बजार विधा)
नेपाली पुँजी बजारको विकास र संस्थागत सुधारमा योगदान पु-याएका चापागाईं अनुभवी व्यवस्थापकका रूपमा परिचित छन्। वित्त, बैंकिङ र बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका उनले पुँजी बजारलाई व्यवस्थित र सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
विष्णुकुमार अग्रवाल (अटोमोबाइल विधा)
अटोमोबाइल क्षेत्रमा आधुनिक प्रविधि र विद्युतीय सवारी प्रवद्र्धनमा अग्रणी भूमिका खेलेका अग्रवाल सफल उद्योगपति मानिन्छन्। विभिन्न अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा भित्र्याउँदै उनले अटोमोबाइल व्यवसायलाई नयाँ स्तरमा पु-याएका छन्। हरित ऊर्जासम्बन्धी अभियानमा उनको योगदान उल्लेखनीय छ।
डा. वीरेन्द्र विष्ट (स्वास्थ्य विधा)
विदेशको अवसर त्यागेर नेपालमै स्वास्थ्य सेवा विस्तारमा समर्पित विष्ट वरिष्ठ चिकित्सकका रूपमा परिचित छन्। न्यूरोसम्बन्धी स्वास्थ्य सेवा देशमै विस्तार गर्दै उनले आधुनिक उपचार प्रणालीको विकासमा महत्वपूर्ण योगदान दिएका छन्। स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उनको भूमिका उल्लेखनीय छ।
अञ्जिला तुम्बापो सुब्बा (खेलकुद विधा)
नेपाली महिला फुटबल टोलीकी कप्तान तथा उत्कृष्ट गोलरक्षकका रूपमा परिचित सुब्बाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई महत्वपूर्ण सफलता दिलाएकी छन्। अनुशासन, मेहनत र निरन्तर प्रदर्शनमार्फत उनले महिला फुटबलको विकासमा योगदान दिएकी छन्।
अनिल पौडेल (अनिरुद्र) – साहित्य विधा
साहित्य, सम्पादन र सामाजिक चेतनासँग जोडिएको लेखनमार्फत पहिचान बनाएका पौडेल सिर्जनात्मक व्यक्तित्वका रूपमा परिचित छन्। कविता, साहित्यिक कृतिहरू तथा सामाजिक विषयवस्तुमा आधारित लेखनमार्फत उनले नेपाली साहित्यमा निरन्तर योगदान दिँदै आएका छन्।
अखण्ड भण्डारी (पत्रकारिता विधा)
लामो समयदेखि सक्रिय पत्रकार भण्डारी खोजमूलक र गहिरो पत्रकारिताका लागि परिचित छन्। विभिन्न राष्ट्रिय मिडियामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनले पत्रकारिताको विश्वसनीयता, भाषिक शुद्धता र सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएका छन्।
जनता बहुमुखी क्याम्पस
वि.सं. २०४५ सालमा स्थापना भएको जनता बहुमुखी क्याम्पस कोशी प्रदेशकै महत्वपूर्ण शैक्षिक केन्द्रका रूपमा स्थापित छ। मध्यम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको यस संस्थामा हाल ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। शैक्षिक गुणस्तर, पूर्वाधार विस्तार र पहुँच वृद्धिमा योगदान पु-याएको भन्दै क्याम्पसलाई विशेष सम्मान प्रदान गरिएको हो।
डा. कृष्णप्रसाद तिम्सिना
नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक तिम्सिनाले कृषि अनुसन्धान, बीउ प्रणाली र जलवायु–मैत्री खेतीमा महत्वपूर्ण योगदान पु-याएका छन्। अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान बनाएका उनले नेपाली कृषिलाई आधुनिक र उत्पादनमुखी बनाउन भूमिका खेलेका छन्। वैज्ञानिक अनुसन्धान र नेतृत्वदायी भूमिकाको कदर गर्दै उनलाई विशेष सम्मान प्रदान गरिएको हो।
राजन श्रेष्ठ
पर्यटन तथा होटल व्यवसायमा चार दशकभन्दा बढी समयदेखि सक्रिय राजन श्रेष्ठले विराटनगरमा आतिथ्य क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिएका छन्। होटल स्वागतम्का प्रबन्ध निर्देशक रहेका उनले पर्यटन प्रवद्र्धन, सेवा गुणस्तर अभिवृद्धि र निजी क्षेत्रको सक्रियता बढाउन निरन्तर काम गरेका छन्। उनको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो।
डा. कृष्ण दुलाल
जलविद्युत् क्षेत्रका विज्ञ डा. दुलालले नेपाल विद्युत् प्राधिकरण तथा विभिन्न परियोजनामार्फत ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्। बुढीगण्डकी परियोजना लगायतमा सक्रिय भूमिका खेलेका उनले अन्तर्राष्ट्रिय अनुभवसमेत बटुलेका छन्। ऊर्जा विकास र प्राविधिक योगदानको कदर गर्दै उनलाई सम्मान प्रदान गरिएको हो।
राजकुमार कार्की
तीन दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकार राजकुमार कार्की निर्भीक र प्रतिबद्ध पत्रकारिताका लागि परिचित छन्। ‘ब्लाष्ट टाइम्स’ का संस्थापक प्रधानसम्पादकका रूपमा उनले कोशी प्रदेशमा पत्रकारिताको पहिचान स्थापित गरेका छन्। सत्य र सामाजिक न्यायका पक्षमा निरन्तर कलम चलाएको योगदानको कदर गर्दै उनलाई विशेष सम्मान गरिएको हो।
रमण नेपाल
नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक तथा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले बैंकिङ क्षेत्रमा दीर्घ अनुभव हासिल गरेका छन्। अनुशासन, इमान्दारिता र व्यवस्थापन क्षमतामार्फत वित्तीय संस्थाहरूलाई सुदृढ बनाउन योगदान दिएका छन्। बैंकिङ क्षेत्रको विकास र नेतृत्वदायी भूमिकाको मूल्यांकन गर्दै उनलाई सम्मान प्रदान गरिएको हो।
डा. सरदा खड्का
महिला स्वास्थ्य क्षेत्रमा सक्रिय डा. सरदा खड्काले स्तन क्यान्सरको पहिचान र उपचारमा उल्लेखनीय काम गरेकी छन्। बिरामीलाई सहज पहुँचमा उपचार उपलब्ध गराउने र जनचेतना फैलाउने कार्यमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। महिला स्वास्थ्य सशक्तीकरणमा योगदान पु¥याएको भन्दै उनलाई विशेष सम्मान गरिएको हो।
तुलसीप्रसाद घिमिरे
नागरिक लगानी कोषका अध्यक्ष घिमिरेले नेपाल राष्ट्र बैंकमा लामो समय सेवा दिँदै आर्थिक नीति, अनुसन्धान र व्यवस्थापनमा योगदान दिएका छन्। सरल र इमान्दार नेतृत्वका रूपमा चिनिएका उनले वित्तीय क्षेत्रको सुदृढीकरणमा भूमिका खेलेका छन्। उनको समर्पण र अनुभवको कदर गर्दै सम्मान गरिएको हो।
टेकनाथ सिटौला
नागरिक उड्डयन क्षेत्रमा अनुभवी टेकनाथ सिटौला एयर ट्राफिक कन्ट्रोलर तथा व्यवस्थापकका रूपमा परिचित छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्व सम्हाल्दै उड्डयन सुरक्षामा महत्वपूर्ण भूमिका खेलेका छन्। आपतकालीन अवस्थाहरूमा संयमित व्यवस्थापन र जिम्मेवारी निर्वाह गरेको योगदानको कदर गर्दै उनलाई विशेष सम्मान प्रदान गरिएको हो।

