Harsamaya
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव ।

जनकपुर - मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराएका छन् ।

मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारसम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारको पहलमा सुरु भएको र छलफलको क्रममा रहेको विभिन्न ५१ वटा कामहरुबारे जानकारी गराएका छन् ।

उनले मुख्यतः वितेको १०० दिनमा प्रदेश सरकारको मातहतमा रहेका मन्त्रालयहरुबाट स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सिँचाई, भौतिक पूर्वाधार, खेलकुद, वन क्षेत्र, यातायात र अर्थ सम्बन्धी कुल ५१ वटा मुख्य कामहरु अगाडि बढाइएको छ ।

मुख्यमन्त्री यादवका अनुसार यी ५१ वटा कामहरुमध्ये पनि प्रदेश सरकारले गरेको सबैभन्दा उल्लेख्य कामहरुमा, जनकपरधामस्थित प्रादेशिक अस्पतालमा विरामीहरुलाई पुर्जा कटाउनका निम्ति घरबाटै मोबाईलको प्रयोग गरेर काट्न मिल्ने व्यवस्था अगाडि बढाइएको छ ।

त्यस्तै, किसानहरुका लागि मलमा घटेको अनुदान प्रदेश सरकारले यसै वर्षदेखि लागुहुने गरी पुनः पूर्ववत व्यवस्था मिलाउन संघीय सरकार समक्ष प्रस्ताव गरेको मुख्यमन्त्री यादवले जानकारी दिए ।

जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउनका निम्ति प्रदेश सरकारले आवश्यक मापदण्ड बनाएर स्थानीय सरकार र पुरातत्व विभागसँग समन्वय गरी काम अगाडि बढाएको मुख्यमन्त्री यादवले बताए ।

त्यस्तै, जनकपुरधाममा राम जानकी रंगशाला निर्माणका निम्ति बाँकी रहेको प्रक्रियाहरु अगाडि बढाइएको मुख्यमन्त्री यादवले जानकारी दिए ।

मुख्यमन्त्री यादवका अनुसार मधेश प्रदेशमा इ रिक्सा र ट्याकटर चलाएर जिविको पार्जन गर्नेहरुका निम्ति प्रदेश सरकारले मात्र प्रयोगात्मक परीक्षाको माध्यमबाट लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएको छ ।

त्यस्तै एक निर्वाचन क्षेत्र एक ५ किलोमिटर सडक निर्माण योजना अन्तर्गत पहिलो चरणको सबै काम सकेर अर्को चरणको थाल्ने गरी सरकारले आवश्यक सबै तयारी पुरा गरिसकेको मुख्यमन्त्री यादवले जानकारी दिए ।

मुख्यमन्त्री यादवले गर्मी महिनामा सुख्खा हुने र पिउने पानीको अभाव हुने समस्यालाई मध्येनजर गर्दै अहिले देखिनै विज्ञहरुसँग छलफल गरेर सामाधानको उपाय खोज्ने कार्य भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update