Harsamaya
मानबहादुर नेपालीद्वारा नेपाली कांग्रेस परित्यागको घोषणा
नेपाली कांग्रेसका नेता मानबहादुर नेपाली ।

काठमाडौं - नेपाली कांग्रेसका नेता मानबहादुर नेपालीले पार्टीभित्र देखिएको विवाद र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस परित्याग गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपालीले फागुन २१ को निर्वाचन र त्यसपछि पार्टीभित्र उत्पन्‍न अवस्थाबारे गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन्। उनले समानुपातिकतर्फ दलित कोटामा आफ्नो नाम पुरुषतर्फ पहिलो नम्बरमा रहेको उल्लेख गर्दै निर्वाचनको मुखमा पार्टीभित्र अराजकता र गैरवैधानिक तरिकाले कांग्रेस कब्जा गर्ने प्रयास भएको आरोप लगाएका छन्।

उनले तत्कालीन महामन्त्री गगनकुमार थापा उक्त षड्यन्त्रको मुख्य नाइके भएको आरोप लगाउँदै पार्टीभित्रको निर्णय प्रक्रिया र नेतृत्वको व्यवहारले पार्टी कमजोर भएको बताएका छन्। साथै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा ‘रुख’ चिन्हमा मतदान गर्ने नीति अनुसार देशभर कार्यकर्ता परिचालन गरिएको र त्यसैको परिणामस्वरूप कांग्रेसले समानुपातिकतर्फ करिब १८ लाख मत पाएको उनले उल्लेख गरेका छन्।

नेपालीले पार्टीका सभापति शेरबहादुर देउवादेखि नेता शेखर कोइरालासम्मलाई अपमानित गर्ने वातावरण सिर्जना भएको आरोप लगाउँदै पार्टीभित्र संवाद, सहमति र एकताको वातावरण कमजोर बनेको बताएका छन्।

रुकुम पश्चिममा उम्मेदवार सिफारिसको विषयमा पनि असन्तुष्टि जनाउँदै उनले राजु केसीलाई टिकट दिने प्रक्रियामा चलखेल भएको आरोप लगाएका छन्।

आफू सामान्य परिवारबाट राजनीति गर्दै पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै नेपालीले पार्टीभित्र न्याय र समान व्यवहार नभएको गुनासो गरेका छन्।

अन्त्यमा उनले आफ्नो स्वास्थ्य, अवस्था र विवेकका आधारमा सर्वोच्च अदालतको फैसलापछि नेपाली कांग्रेसमा नरहने निर्णय गरेको घोषणा गर्दै पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन्।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update