Harsamaya
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हुँदै
केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं -  प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक नेपाली कांग्रेसको बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बसिरहेको हो ।

दिउँसो १ बजेका लागि डाकिएको बैठक खराब मौसमबीच एक घण्टा ढिला गरी सुरू भएको हो । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्नेछ ।

यसअघिको निर्वाचनको पहिलो दल कांग्रेसले अहिलेको निर्वाचनमा आधाभन्दा कम सिट जितेको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ । कांग्रेसले चुनावी समीक्षासमेत गरेको छैन ।

कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेले आज समानुपातिकको नाम टुंगो लगाइने बताए । उनले आजको बैठकमा अन्य विषयमा सामान्य छलफल हुन सक्ने भएपनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गर्ने समानुपातिक सदस्यको नाम टुंगो लगाइने रहेको बताए ।

कांग्रेसका सामु अब हुने पार्टीको नियमित महाधिवेशन र अबको मार्गका बारेमासमेत बैठक गरी टुंगोमा पुग्नुपर्नेछ । प्रवक्ता चालिसेले पार्टीको केन्द्रीय समिति बैठकको तयारी भइरहेको भन्दै यो सातासम्म बस्ने जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update