Harsamaya
फागुन २७ : मध्य पूर्वी देशहरूमा माग पत्र प्रमाणीकरण स्थगन देखि वायु प्रदूषण घटाउन विश्व बैङ्कको  ऋण स्वीकृत सम्म
ग्राफिक्सः हर समय/harsamaya

सरकारले मध्य पूर्वी देशहरूमा माग पत्र प्रमाणीकरण स्थगन गरेको छ । इजरायल-अमेरिका र इरानबिच युद्धका कारण सरकारले ती देशमा कामदार पठाउन आवश्यक पर्ने माग पत्र प्रमाणीकरणमा रोक लगाएको हो ।

यसअघि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति, अध्ययनका लागि जान एनओसी जारी गर्न रोकिएको थियो । अहिले सरकारले वैदेशिक रोजगारीमा जाने देशबाट नेपालका लागि आउने कामदारहरूको माग पत्र प्रमाणीकरण समेत रोकेको हो ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित : नेपाली कांग्रेस झापाको जिल्ला कार्यसमितिले पार्टीहित विपरीत गतिविधि गरेको आरोपमा तीन जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको प्रक्रिया अघि बढाएको छ ।

जिल्ला कार्यसमितिका सदस्यद्वय ठमनाथ नेपाल (झापा) मुना भट्टराई (बुद्धशान्ति) तथा क्षेत्रीय प्रतिनिधिहरू शम्भु खड्का (कन्काई), टेकनारायण सङ्गगौला (कन्काई) र दिपेन्द्र थापा (गौरिगञ्ज) ले केही समयदेखि पार्टीहित विपरीत गतिविधि गर्दै आएको पाइएपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।

‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि’: नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसदहरूबीच अन्तरक्रिया भएको छ । कांग्रेस संसदीय दलले आज पार्टीका राष्ट्रिय सभाका वहालवाला सांसद र नवनिर्वाचित सांसदहरूबीच परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम गरेको हो ।

उक्त अन्तर्क्रिया कार्यक्रम परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै सांसद ललितजंग शाहीले पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि रहेको बताएका छन् ।

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा ९ लाख ८९ लाख हजार रुपैयाँ खर्च गरेका छन् ।

चितवन–२ बाट उम्मेदवारी दिएका लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

उम्मेद्वारी मनोनयन दर्ता खर्च १० हजार रुपैयाँ, नमुना मतपत्र छपाई ६८ हजार १६१ रुपैयाँ, हवाई खर्च १३ हजार ६२६ रुपैयाँ र गोष्ठी भेला एक लाख ८० हजार रुपैयाँ रहेको लामिछानेले निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ ।

इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही गर्ने निगमको चेतावनी : नेपाल आयल निगमले विश्व बजारमा देखिन सक्ने पेट्रोलियम पदार्थको असहज परिस्थिति मध्यनजर गर्दै उपभोक्तालाई इन्धन र खाना पकाउने एलपी ग्यास मितव्ययी प्रयोग गर्न विशेष अपिल गरेको छ । आयल निगमले बुधवार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय स्तरमा देखिएको समस्याका कारण भविष्यमा पर्न सक्ने सम्भावित प्रभावबाट बच्न पूर्व सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।

निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र ग्यास आवश्यक परिमाणमा मात्र खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । विशेषगरी मासिक एक सिलिन्डर मात्र ग्यास खपत हुने परिवारले थप सिलिन्डर नभर्न र खाना पकाउनका लागि ग्यासको सट्टा विद्युतीय उपकरण प्रयोग बढाउन निगमले सुझाव दिएको छ ।

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा सर्वोच्चले पूर्ण सुनुवाइ गर्ने : सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमा पूर्ण सुनुवाइ गर्ने आदेश दिएको छ।

बुधबार अदालतले उक्त रिटलाई प्राथमिकतामा राख्दै आगामी चैत १ गतेका लागि पूर्ण सुनुवाइको पेसी तोकेको हो। न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो आदेश जारी गरेको हो। अदालतले विपक्षीहरूको लिखित जवाफ परिसकेको र म्यादसमेत नाघिसकेको अवस्थामा विषयलाई छिटो टुंग्याउनुपर्ने प्रकृतिको रहेको औंल्याएको छ।

नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत : नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न तथा वायु गुणस्तर सुधार गर्न विश्व बैंक ले करिब ७ अर्ब ६४ करोड रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने भएको छ ।

 विश्व बैंकका कार्यकारी निर्देशकहरूको बैठकले नेपाललाई ५ करोड २० लाख अमेरिकी डलर ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । उक्त रकमबाट नेपालमा वायु प्रदूषण नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

विश्व बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सो ऋण सहयोगबाट ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालन गरिनेछ । परियोजना विशेषगरी उच्च वायु प्रदूषणको जोखिम रहेका काठमाडौं उपत्यका र तराईका केही क्षेत्रमा केन्द्रित रहने बताइएको छ ।

 

 

 

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update