Harsamaya
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही गर्ने निगमको चेतावनी
नेपाल आयल निगम ।

काठमाडौं - नेपाल आयल निगमले विश्व बजारमा देखिन सक्ने पेट्रोलियम पदार्थको असहज परिस्थिति मध्यनजर गर्दै उपभोक्तालाई इन्धन र खाना पकाउने एलपी ग्यास मितव्ययी प्रयोग गर्न विशेष अपिल गरेको छ । आयल निगमले बुधवार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय स्तरमा देखिएको समस्याका कारण भविष्यमा पर्न सक्ने सम्भावित प्रभावबाट बच्न पूर्व सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।

निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र ग्यास आवश्यक परिमाणमा मात्र खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । विशेषगरी मासिक एक सिलिन्डर मात्र ग्यास खपत हुने परिवारले थप सिलिन्डर नभर्न र खाना पकाउनका लागि ग्यासको सट्टा विद्युतीय उपकरण प्रयोग बढाउन निगमले सुझाव दिएको छ ।

त्यस्तै इन्धन बचतका लागि सवारीसाधनमा ‘राइड सेयरिङ’ को व्यवस्था मिलाउन र विद्युत्का लागि जेनेरेटर जस्ता बढी इन्धन खपत हुने उपकरण प्रयोग नगर्न समेत निगमले उपभोक्तालाई  अनुरोध गरेको छ ।

मध्यपूर्वमा देखिएको समस्याका कारण हालसम्म नेपालको आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर नपरे तापनि नेपाल पूर्ण रूपमा आयातमा निर्भर रहेकाले पूर्व तयारी आवश्यक रहेको निगमको भनाइ छ । यसैबीच निगमले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेहरूमाथि कारबाहीको चेतावनी दिएको छ ।

कसैले अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको, तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गरेको वा नयाँ सिलिन्डरको अनावश्यक बजारीकरण गरेको पाइए नेपाल सरकारको प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update