Harsamaya
मध्यपूर्वी देशहरूको मागपत्र प्रमाणीकरण स्थगित

काठमाडौं - सरकारले मध्य पूर्वी देशहरूमा माग पत्र प्रमाणीकरण स्थगन गरेको छ । इजरायल-अमेरिका र इरानबिच युद्धका कारण सरकारले ती देशमा कामदार पठाउन आवश्यक पर्ने माग पत्र प्रमाणीकरणमा रोक लगाएको हो ।

यसअघि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति, अध्ययनका लागि जान एनओसी जारी गर्न रोकिएको थियो । अहिले सरकारले वैदेशिक रोजगारीमा जाने देशबाट नेपालका लागि आउने कामदारहरूको माग पत्र प्रमाणीकरण समेत रोकेको हो ।

युएई, कतार लगायत देशमा रहेका नेपाली दूतावासले सूचना जारी गर्दै माग पत्र प्रमाणीकरण सम्बन्धी कार्य अर्को सूचना जारी नभएसम्म अस्थायी रूपमा स्थगन गरिएको जनाएका छन् ।

त्यसका लागि परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा रहेको उच्चस्तरीय ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को २० फागुनमा बसेको बैठकले माग पत्र प्रमाणीकरण नगर्न निर्देशन दिने निर्णय गरेको थियो । सोही आधारमा परराष्ट्र मन्त्रालयको पत्राचारपछि मध्य पूर्वी देशहरूमा रहेका नेपाली दूतावास तथा नियोगहरूले माग पत्र प्रमाणीकरण स्थगन गरेका हुन् ।

इरानले युएई, कतार, ओमान, बहराइन, इजरायल लगायत देशमा रहेका अमेरिकी बेसक्याम्पहरूमा ड्रोन तथा मिसाइल आक्रमण गर्दै आएका छन् । जसले गर्दा ती देशमा रहेका नेपालीको सुरक्षा चिन्ता बढ्दो छ ।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update