गोकर्णेश्वरबाट पेस्तोलसहित एक सय राउन्ड गोली बरामद
काठमाडौं - काठमाडौंको गोकर्णेश्वर क्षेत्रबाट पेस्तोलसहित एक सय राउन्ड गोली बरामद गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा स्थित पहेँलो पुल नजिक खोला किनारबाट खोजतलासका क्रममा उक्त हतियार र गोली फेला पारिएको हो।
प्रहरीले घटनास्थलबाट पेस्तोल १ थान, म्याग्जिन ३ थान, ७.६२ एमएमका १३ राउन्ड गोली तथा ९ एमएमका ८७ राउन्ड गोली बरामद गरेको जनाएको छ।
फागुन २६ गते हतियार लुकाइराखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त हतियार बरामद गरेको हो।
परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२ १८:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

