भोजपुर - ध्रुवराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भोजपुर जिल्लाको एक मात्र निर्वाचन क्षेत्रबाट श्रम संस्कृति पार्टीका उम्मेदवार राई विजयी भएका हुन्।
भोजपुरको पश्चिमी भेगस्थित टेम्केमैयुङ गाउँपालिका–४ नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका राई विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनका क्रममा उनी दुई पटक स्ववियु सभापतिमा निर्वाचित भएका थिए।
राई २०६२/६३ को जनआन्दोलन २०६२–६३ मा सक्रिय रूपमा सहभागी भएका थिए। त्यसपछि उनी स्थानीय राजनीतिमा सक्रिय हुँदै २०७४ सालको स्थानीय तह निर्वाचनमा टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। त्यसबेला उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम को गठबन्धनलाई पराजित गर्दै विजय हासिल गरेका थिए।
पालिका अध्यक्षका रूपमा उनले अन्धकारमा रहेको टेम्केमैयुङ गाउँपालिकामा विद्युत् विस्तार गरी गाउँलाई उज्यालो बनाएको भन्दै प्रशंसा पाएका थिए। तर २०७९ को स्थानीय तह निर्वाचनमा भने उनी कांग्रेसका सरोज बस्नेत सँग पराजित भएका थिए।
यसअघि नेकपा (एमाले) मा सक्रिय रहेका राई कोशी प्रदेश कमिटी सदस्यसमेत थिए। केही महिना अघि मात्र एमाले परित्याग गर्दै हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।
प्रतिनिधिसभा निर्वाचनमा उनले एमालेका केन्द्रीय सचिव शेरधन राई लाई १,९१३ मतले पराजित गरे। राईले १६,६६३ मत प्राप्त गर्दा शेरधन राईले १४,७५० मत प्राप्त गरेका थिए।
यस जितसँगै विद्यार्थी राजनीति हुँदै स्थानीय नेतृत्व र अन्ततः संघीय संसदसम्म पुग्ने राजनीतिक यात्रा ध्रुवराज राईका लागि महत्वपूर्ण उपलब्धि बनेको छ।
भोजपुर -१ को मत अपडेट :-
ध्रुवराज राई (श्रम संस्कृति पार्टी) = 16,663 (विजयी)
शेरधन राई (नेकपा एमाले) = 14,750
वालकृष्ण थापा (नेपाली कांग्रेस) = 8,670
रमेश प्रसाद ओझा (राष्ट्रिय स्वतन्त्र पार्टी) = 6,102
अजम्बर राई काङमाङ (नेपाली कम्युनिष्ट पार्टी) = 5,728
जितेन्द्र राई (राष्ट्रिय परिवर्तन पार्टी) = 812
गोपाल कुमार राई (जनता समाजवादी पार्टी_एकल चुनाव चिन्ह) = 256
चन्द्र प्रसाद राई (मंगोल नेशनल अर्गनाइजेसन) = 246
देवानराज राई (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 203
जनक नेपाल (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 197
राजा राम बासी (नेपाल मजदुर किसान पार्टी) = 66
युवराज थापा (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 35
जम्मा मतदाता : १,२५,७६५ [६५,७८८ पुरुष ५९,९७७ महिला]



