काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हालै सम्पन्न निर्वाचनको परिणाम पार्टीका लागि अनुकूल नआएको स्वीकार गर्दै यसको गहिरो र निर्मम समीक्षा गरिने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै शर्माले निर्वाचन परिणाम अनपेक्षित नभएको उल्लेख गर्दै नागरिकको चाहना र बदलिँदो मनोविज्ञानलाई समयमै बुझ्न नसक्दा पार्टीले हार व्यहोर्नुपरेको बताएका हुन्।
उनले २०७९ सालको स्थानीय तह निर्वाचनमा धरान, धनगढी र काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरूले हासिल गरेको जितबाट आएको सन्देशलाई कांग्रेसले बेवास्ता गरेको बताए। मतदाताले ‘सरकारको काम गराइ बदल, दल बदल, नत्र हाम्रो मन बदलिन्छ’ भन्ने स्पष्ट सन्देश दिएको भए पनि पार्टीले आफूलाई अपेक्षित गतिमा बदल्न नसकेको उनको भनाइ छ।
नागरिकको त्यही रुष्ट मनलाई मतमा बदल्ने अवसर नयाँ दलले उपयोग गरेको भन्दै उनले यसबाट कांग्रेसले पाठ सिक्नुपर्ने बताएका छन्। संसद्को पहिलो दल बने पनि कांग्रेसले सरकारको नेतृत्व गर्दा वा प्रतिपक्षमा बस्दा प्रभावकारी भूमिका खेल्न नसकेको उनले स्वीकार गरेका छन्।
सरकारको कामको गति र प्रभावकारितामा सुधार ल्याउन नसक्दा आम नागरिकमा असन्तुष्टि, निराशा र विद्रोहको भावना बढेको उनले उल्लेख गरे। विद्रोह जगाउन सजिलो भए पनि नागरिकमा विश्वास जगाउन नसक्दा अपेक्षित नतिजा प्राप्त हुन नसकेको उनको विश्लेषण छ।
शर्माले पार्टीभित्र सुधारका लागि महाधिवेशनपछि नीति अधिवेशनलगायत अभियान सञ्चालन गरिए पनि त्यो पर्याप्त नभएको बताए। पार्टीभित्रका समस्यालाई ‘एमआरआई’ गरेर निदानसहित दस्तावेज तयार गरी तल्लो तहसम्म पुर्याउने प्रयास भए पनि लोकप्रियतावाद (पपुलिजम) लाई चिर्न नसकिएको उनको भनाइ छ।
जनताले प्रशासन, दल र सरकार सबै क्षेत्रमा परिवर्तन खोजिरहेको अवस्थामा कांग्रेसले परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्ने कुरा नागरिकसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्न नसक्दा चुनावी परिणाम प्रभावित भएको शर्माले बताएका छन्।

