Harsamaya
चुनावको सुरुवाती नतिजाः रास्वपाको व्यापक अग्रता‚ पछी परे पुराना दलहरु 

काठमाडौं- हिजो भएको प्रतिनिधि सभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले व्यापक अग्रता कायम गरेको छ । उसले गणना भइरहेको २२ सिटमा अग्रता कायम गरेको छ। 

यता‚ नेकपा एमालेले तीन सिट र नेपाली कांग्रेसले १ सिटमा अग्रता कायम गरेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । 

रुपन्देही क्षेत्र नम्बर २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल पछि परेका छन् । रुपन्देही क्षेत्र नं २ का ताजा मतगणनामा रास्वपाले शुरुवाती अग्रता लिएको छ । तिलोत्तमा वडा नं १ को मतगणना सकिंदा  रास्वपाका सुलभ खरेलले २७ सय ७९ मत पाउँदा एमालेका विष्णुप्रसाद पौडेलले ६०९ मत पाएका छन् ।

नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले ३०५ र नेपाली कम्युनिष्ट पार्टीका सुभास पाण्डे (विश्वदीप)ले ३५ मत पाएका निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए । रुपन्देही २ मा एकलाख ३५ हजार ५० मतदाता छन् ।

यसैगरी काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेल पनि प्रारम्भिक मत गणनामा पछि परेका छन् ।  यस क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १ हजार ४२४ मतसहित सुरुवाती अग्रता लिएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल छन् । उनले ४१२ मत प्राप्त गरेका छन् । तेस्रोमा एमाले उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गरेका छन् । बुढानीलकण्ठ–६ को मत गणना हुँदा आएको यो प्रारम्भिक मत हो ।

यसैगरी भक्तपुर क्षेत्र नम्बर २ का एमाले उम्मेदवार महेश बस्नेत पनि पछि परेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले निरन्तर मत अगाडि बढाइरहेका छन् । बिहान ५ बजेसम्मको मत गणना अनुसार खत्रीले २००० मत पाउँदा बस्नेतले १ हजार २८१ मत ल्याएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका कबीर रानाले १७४ मत सहित पछ्याइरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update