काठमाडौं - जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका ४ जनालाई सशस्त्र प्रहरीले भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको छ। लागुऔषध कारोबार गरिरहेको अवस्थामा उनीहरूलाई सशस्त्रको इन्टेलिजेन्स ब्यूरोले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) विष्णु प्रसाद भट्टका अनुसार पक्राउ पर्नेमा धरान घर भएका ३३ वर्षीय सुनिल थापा, लोकन्थली घर भएका ३३ वर्षीय आशिष पाण्डे, ललितपुर घर भएकी २१ वर्षीया राशि गौतम र काठमाडौँको नक्साल घर भएका २१ वर्षीय युनिक पोखरेल रहेका छन्।
पक्राउ परेका सुनिल थापा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट नियन्त्रणमा लिइएका हुन्। उनी लागुऔषध कारोबार मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेका बेला भदौ २४ गते कारागारबाट फरार भएका थिए। अन्य आरोपीहरू पनि लागुऔषध मुद्दामै थुनामा रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ।
मंगलबार लोकन्थलीस्थित जस्ताको टहरामा लागुऔषध कारोबार गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। सशस्त्र प्रहरीले उनीहरूको साथबाट १५ ग्राम लागुऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेटसमेत बरामद गरेको जनाएको छ।

