एजेन्सी - इरान र अमेरिकाबीच तनाव घटाउने प्रयास भइरहेकै बेला इजरायलबाट सुरु भएको सैन्य कारबाहीले कूटनीतिक प्रयासमा ठूलो झट्का लागेको छ।
अमेरिकी अधिकारीले अलजजिरालाई दिएको जानकारी अनुसार इरानमाथिको आक्रमण अमेरिका र इजरायलको संयुक्त सैन्य अपरेशनका रूपमा अघि बढीरहेको छ। यसअघि दुवै देशबीच तनाव कम गर्ने उद्देश्यले विभिन्न चरणमा वार्ता भइरहेको थियो, जसको पछिल्लो बैठक दुई दिनअघि मात्रै सम्पन्न भएको थियो।
तनाव रोक्ने अन्तिम प्रयासस्वरूप ओमानका विदेशमन्त्रीले वासिङ्टन पुगेर अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेट गरेका थिए। उनीहरूले भिडन्त टार्न पहल गरे पनि त्यसको केही समयमै इजरायली मोर्चाबाट सैन्य कारबाही सुरु भएको पुष्टि भएको छ।
इजरायली सुरक्षा स्रोतका अनुसार पछिल्लो २४ घण्टामा अमेरिका र इजरायलले वार्ताबाट समाधान सम्भव नभएको निष्कर्ष निकालेका थिए। अहिले इजरायलले आफ्नो आकाशमार्ग पूर्ण रूपमा बन्द गर्दै संकटकाल घोषणा गरेको छ र नागरिकलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको छ।
यस घटनालाई विश्लेषकहरूले कूटनीतिक प्रयास विफल बनाउने कदमका रूपमा हेरेका छन्। जर्जटाउन विश्वविद्यालयका प्राध्यापक तथा इरानी मामिला विज्ञ मेहरान कामराभाका अनुसार इजरायलले अमेरिका–इरानबीच भइरहेको संवादलाई रोक्न लक्षित गरी आक्रमण गरेको हुन सक्छ।
उनले भने, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि बढ्दो सैन्य र राजनीतिक दबाबका कारण इजरायलसँग दूरी बनाउन कठिन भएको देखिन्छ, जसले अहिलेको अवस्था निम्त्याएको हो।”
विश्लेषकहरूका अनुसार यो घटनाले मध्यपूर्वमा थप तनाव बढाउने र अमेरिका–इरानबीचको कूटनीतिक प्रक्रिया अनिश्चित बन्ने संकेत दिएको छ।

