Harsamaya
काबुलमा पाकिस्तानको हवाई आक्रमणपछि ‘खुला युद्ध’ घोषणा, अफगानिस्तान वार्तामा बस्न तयार
पाकिस्तान ।

काठमाडौं - पाकिस्तानले अफगानिस्तानका प्रमुख शहरहरूमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ । पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले सामाजिक सञ्जालमार्फत अफगानिस्तानसँग ‘खुला युद्ध’ सुरु भएको घोषणा गरेका छन् । 

अल जजीराको रिपोर्टअनुसार शुक्रबार पाकिस्तानले अफगानिस्तानको राजधानी काबुल तालिबानको प्रभाव क्षेत्र कन्दहर तथा अन्य सहरहरूमा हवाई आक्रमण गरेको हो । सीमाक्षेत्रमा पनि झडप जारी रहेको र दुवै पक्षले ठूलो मानवीय क्षति भएको दाबी गरेका छन् ।

यसैबीच, अफगानिस्तानले भने वार्तामार्फत समाधान खोज्न आफू तयार रहेको जनाएको छ । पछिल्ला केही महिनादेखि दुवै देशबीच सीमाक्षेत्रमा आक्रमण–प्रत्याक्रमण भइरहेका थिए । जसले क्षेत्रीय सैन्य द्वन्द्व चर्किने चिन्ता बढाएको छ ।

पाकिस्तानका रक्षामन्त्री आसिफले एक्समा लेख्दै नाटो सेना फिर्ता भएपछि अफगानिस्तानमा शान्ति स्थापना हुने अपेक्षा गरिएको भए पनि तालिबान प्रशासनले आतंकवादी समूहहरूलाई संरक्षण दिएको आरोप लगाए । उनले तालिबान नेतृत्वले क्षेत्रीय शान्ति भंग गरेको र मानवअधिकार हनन गरेको दाबी गरे ।

‘हाम्रो धैर्यताको सीमा नाघिसकेको छ । अब हामी र तिमीहरूबीच खुला युद्ध छ,’ उनले लेखेका छन् । उनले पाकिस्तान छिमेकी देश भएको र परिस्थितिबारे जानकार रहेको समेत उल्लेख गरेका छन् । यसअघि पाकिस्तानका सूचना मन्त्री अतुल्लाह तरारले अफगानिस्तानले एबोटाबाद, स्वाबी र नौशेरामा ड्रोन आक्रमण गरेको दाबी गरेका थिए ।

टोलो न्यूजका अनुसार ती ड्रोनहरू प्रतिरोधी प्रणालीबाट खसालिएको र मानवीय क्षति नभएको बताइएको छ । काबुल र इस्लामाबादबीचको बढ्दो तनावले दक्षिण एशियाली क्षेत्रमा अस्थिरता बढ्ने चिन्ता व्यक्त गरिएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update