Harsamaya
मेलम्ची -९ ले गर्यो वडास्तरीय हाजिरीजवाफ एवम् शिक्षक-विद्यार्थी सम्मान 
सम्मानित विद्यार्थीहरूसँग अतिथिहरू ।

मेलम्ची - मेलम्ची नगरपालिका ९ नं. वडा शिक्षा समितिको आयोजनामा वडास्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता एवम् शिक्षक विद्यार्थी सम्मान कार्यक्रम वडा कार्यालय परिसरमा भएको छ ।

 हाजिरीजवाफ प्रतियोगिता कक्षा १-३ तह अन्तर्गत प्रथम श्री जनता माध्यमिक विद्यालय, द्वितीय श्री रक्तकाली आधारभूत विद्यालय खड्काथोक, तृतीय श्री क्यौलेठाना आधारभूत विद्यालय गुफाडाँडा र सान्त्वना श्री सातकन्या माध्यमिक विद्यालय रातमाटा भएका छन्। त्यसैगरी कक्षा ६-८ तह अन्तर्गत जनता माविले नै पहिलो स्थान ओगट्न सफल भएको छ । 

दोस्रो र तेस्रोमा क्रमश: सातकन्या मावि र क्यौलेठाना आवि भएका छन भने सान्त्वना गोल्मेश्वरी आवि भएको छ । वडाभित्रका ६ वटा विद्यालय सहभागी रहेका प्रतियोगिता तहगत कक्षा १-३ र  ६-८ गरी दुइ चरणमा संचालन गरिएको हो ।

 कार्यक्रममा शैक्षिक सत्र २०८१  मा वडाभित्रका विद्यालयहरु मध्येबाट आधारभूत तह उत्तीर्ण परीक्षा ( कक्षा-८) र माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिकाइ उपलब्धि उच्च ल्याउने विषयगत शिक्षकहरुलाई सम्मान गरिएको छ ।

 मेलम्ची नगरपालिकास्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा-८) मा वडाभित्रको विद्यालय मध्येमा विषयगत सिकाइ उपलब्धि उच्च ल्याउन सफल भई सम्मानित हुने शिक्षकहरुमा नेपाली- तारा दाहाल (विष्ट), अङ्ग्रेजी- आकृति सुनार, गणित- लालबहादुर डाँगी, विज्ञान तथा प्रविधि - भरतकुमार मल्ल, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा- माधव अधिकारी, स्वास्थ्य तथा शारीरिक शिक्षा- तारा तामाङ र स्थानीय विषय हाम्रो मेलम्ची हाम्रो पहिचान - कुमार तामाङ रहेका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) तर्फ सम्मानित हुनुहुने विषयगत शिक्षकहरुमा नेपाली- युक्तराज विष्ट, अङ्ग्रेजी - रीता श्रेष्ठ, गणित- रै कुमार राई, विज्ञान तथा प्रविधि- सम्झना चौधरी, सामाजिक अध्ययन- माधव अधिकारी, कार्यालय संचालन तथा लेखा- संजीव थापा, अर्थशास्त्र - देबेन्द्र थापा, अतिरिक्त गणित- राजकुमार यादव रहेका छन् । 

 त्यसैगरी कार्यक्रममा कक्षा-८ र एसईई परीक्षामा वडाबाट उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको छ । वडाभित्र मध्येबाट कक्षा-८ मा उत्कृष्ट हुने जनता माविकी प्रशन्ना कार्की र शतप्रतिशत उत्तीर्ण गर्ने क्यौलेठाना आवि सम्मानित भएका हुन्। एसईईमा उत्कृष्ट हुने सातकन्या माविका सबिन तामाङ र  सोही विद्यालयले ९४.४४ प्रतिशत उत्तीर्ण गराउन सफल भएकोमा सम्मान गरिएको छ । एसईईमा सामुदायिक विद्यालयहरुमा सातकन्या मावि नगरमा नै दोस्रो भएको विद्यालय हो ।

 यसै कार्यक्रमको बिच वडाभित्रका विद्यालयबाट अवकाश भएका सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको छ ।सम्मानित हुने सेवा निवृत्त शिक्षकहरुमा पूर्व वडा अध्यक्ष एवम् सातकन्या माविका कमलबहादुर खड्का, जनता माविका पूर्व प्रधानाध्यापकद्व्य ठाकुरनाथ कुइँकेल र कृष्णबहादुर खड्का सोही विद्यालयका पूर्व शिक्षकद्व्य नगेन्द्रबहादुर खड्का र नारायणबहादुर दनुवार, रक्तकाली आविका पूर्व प्रधानाध्यापक ध्रुवबहादुर खड्का, गोल्मेश्वरी आविका पूर्व प्रधानाध्यापक धनबहादुर बस्नेत, सातकन्या माविका पूर्व शिक्षकद्व्य मानबहादुर कार्की र भिमबहादुर कार्की र क्यौलेठाना आविका पूर्व प्रधानाध्यापक गणेशप्रसाद ओली रहेका छन् । 

 कार्यक्रममा विभिन्न विधाबाट सम्मानित हुनेहरुलाई प्रमुख अतिथि बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङ, विशिष्ट अतिथि मेलम्ची नगरपालिकाका कार्यवाहक प्रमुख उमा प्रधान, विशिष्ट अतिथि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, विशेष अतिथि मेलम्ची नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति योगबहादुर थापाले क्रमश: सम्मान पत्र, दोसल्ला, माला र अबिर टीकाबाट सम्मान गरेका थिए ।  

वडा शिक्षा समितिका संयोजक एवम् वडा अध्यक्ष किरणदीप खड्काले  सभा अध्यक्षता र समितिका सदस्य सचिव एवम् श्री जनता माविका प्रधानाध्यापक केदार विष्टको स्वागत मन्तव्य राखेका थिए । 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update