जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम गौरमा आज अपराह्न १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।गौर नगरपालिका–६ सवगढा गाउँमा आज बिहान दुई पक्षबीच पुनःझडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रसम्म कर्फ्यु आदेश जारी भएको हो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति: सरकारले रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुकोबीचमा उचित समन्वय कायम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ । शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा भएको घटनामा सबैलाई उच्च संयमता अपनाउन आग्रह गरेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
यता, प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी हुन् । यस्तै, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावबाट कांग्रेसलाई मुलुकको ‘पहिलो दल’ बनाउन मतदातालाई आग्रह गरेका छन् । झापा निर्वाचन क्षेत्र नं १ को बुद्धशान्ति–४ मा आयोजित चुनावी कोणसभामा बोल्दै उनले आफू बदलिएर देश बदल्ने संकल्प गरेको कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो दल बनाउनुपर्ने बताए ।
यता, नेकपा निकट भातृ सङ्गठनले यही फागनु २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन बिथोल्ने गरी कुनैपनि गतिनिधि नगर्न राजनीतिक दललाई आग्रह गरेको छ । दाङको तुलसीपुरमा एक समूहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको विषयप्रति लक्षित गर्दै सङ्गठनले यस्ता गतिविधि नगर्न/नगराउन आग्रह गरेको हो । यस्तै, नेकपा एमालेले शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारसँग माग गरेको छ । आज पत्रकार सम्मेलन गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एमालेले मुलुकमा चुनाव नजिकिँदै गर्दा असुरक्षा र त्रासको वातावरण सिर्जना भएकाले शान्ति सुरक्षा कायम गर्न माग गरिएको बताए ।
समाचार : आगामी निर्वाचनलाई लक्षित गर्दै बढ्दो राजनीतिक सक्रियताबीच सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा दुई प्रमुख दलका कार्यकर्ताबीच झडप भएको छ। चुनावी कार्यक्रमकै सिलसिलामा उत्पन्न विवादले शनिबार झडपको रूप लिएको हो। यस्तै, बाराको आदर्श कोतवाल–१ स्थित श्री नेरा आधारभूत विद्यालयको खाजा बनाउन प्रयोग गरिने ग्यास चूल्हो र भाँडाकुँडा नेपाली कांग्रेसको चुनावी कार्यक्रमका लागि लैजाने क्रममा स्थानीयले बाटोमा रोकेका छन् ।
यस्तै, संयुक्त जेनजी आन्दोलनका अगुवाहरुले निर्वाचनको विरोधी नभए पनि आफूहरुका माग सम्बोधन नगरि हुने निर्वाचान स्वीकार्य नहुने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनको आयोजना गरी जेनजी ‘अजय सोडारी’सँग सरकारले गरेको ६ बुँदे सम्झौत कार्यान्वयन गर्न ढिलाई गरेकोप्रति रोष व्यक्त समेत गरेका छन् । यता, रौतहटको गौर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक एवं सवगढाका पूर्ववडा अध्यक्ष शेख जमशेदलाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं. ६ सवगढामा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि प्रहरीले जमशेद सहित करीब २० जनालाई नियन्त्रणमा लिएको छ । जमशेदलाई शनिबार बिहान उनकै घरबाट नियन्त्रणमा लिएको छ ।
अपराध : प्रहरीले काठमाडौँको टोखा नगरपालिका–९ स्थित गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा पर्सा धोवनी गाउँपालिका–२ का ३५ वर्षीय अरबिनकुमार मेहता र नुवाकोट बेलकोटगढी नगरपालिका–१ का २९ वर्षीय निरोज पुडासैनी रहेका छन् । यता, ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने विभिन्न सवारी साधनका सात जना चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौँको नागढुङ्गामा गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात जना चालकलाई नियन्त्रणमा लिइएको हो । यता, गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा एक हजार १५३ व्यवसायी तथा उद्योगीलाई कारबाही गरेको छ । नापतौल इजाजतपत्र नलिई आफूखुशी नापतौल यन्त्रको प्रयोग गर्ने, उपभोक्तालाई ठग्गी गर्ने, तथा तोकिएको समयमा नवीकरण नगराउनेलाई कारबाही गरिएको हो ।
अर्थ : चालु आर्थिक वर्षको सात महिनामा नेपालमा कन्डमको आयात उल्लेखनीय देखिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा कुल १५ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरका २ करोड ४४ लाख ९३ हजार ११५ पिस कन्डम आयात भएको छ । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले दुई देशबीचको व्यापार र लगानी सहकार्यलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्न आग्रह गरेका हुन् ।
खेलकुद : मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै सहाराले १२ वर्षपछि उपाधि चुम्यो । यता, राष्ट्रिय महिला फुबटल प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरीको (एपिएफ) ले उपाधि जितेको छ । उदयपुरमा आज त्रिभुवन आर्मी र सशस्त्र प्रहरी एपिएफबीच भएको फाइनल खेलमा २–१ गोल अन्तरले एपिएफले उपाधि जितेको हो । यस्तै, धरानमा सम्पन्न १४औँ धरान १०के रनको उपाधि नरेन्द्रसिंह रावत र सन्तोषी श्रेष्ठ हात पारेका छन् । धरान १० (टेनके) किलोमिटर रनमा रावतले ३१ मिनेट ५१ सेकेण्डमा दौड पूरा गरेका थिए । यता, त्रिभुवन आर्मी क्लबले जय ट्रफीको पहिलो खेल जितेको छ । शनिबार सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ९ विकेटले पराजित गरेको हो ।
विश्व : नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यस्थित दुत्से दान अजिया गाउँमा हतियारधारी समूहको आक्रमण हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ। स्थानीय प्रहरी र अधिकारीहरूले शनिबार एएफपीलाई उक्त जानकारी दिएका हुन्। जाम्फारा प्रहरीका प्रवक्ता याजिद अबुबकरका अनुसार आक्रमण बिहीबार रातिदेखि शुक्रबारसम्म दुर्गम गाउँमा भएको थियो, जहाँ पुग्ने बाटो पनि सीमित छन्। हाल भने अवस्था सामान्यतर्फ फर्किएको बताइएको छ।
यता, पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरिया सङ्क्रमणको कारण कम्तिमा ७२ वटा बाघको ज्यान गएको अधिकारीहरूले बताएका छन् । चियाङ माईको प्रान्तीय पशुधन कार्यालयले विज्ञप्ति मार्फत मृत बाघमा परीक्षणबाट अत्यधिक सङ्क्रामक क्यानाइन डिस्टेम्पर भाइरसका साथै श्वास–प्रश्वास प्रणालीलाई असर गर्ने ब्याक्टेरियाहरू पत्ता लगाएको बताएको छ । यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा भारत–पाकिस्तानबीच भएको ‘युद्धविराम’ आफ्नो पहलमा सम्भव भएको दाबी पुनः दोहोर्याएका छन् । उनले २०० प्रतिशतसम्मको आयात शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएर दुवै देशलाई वार्तामा ल्याएको बताएका हुन् ।



