Harsamaya
फागुन ८: संसद विघटनविरुद्ध रिटका लागि २२ गते साधारण तारिख तोकियोदेखि एमालेको काठमाडौंमा मसाल जुलुससम्म
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ८६७ उम्मेदवारले निर्वाचन खाता खोलेको छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोगकी सहायक प्रवक्ता सीता पुनले हालसम्म सात दलका ८६७ उम्मेद्वारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेको जानकारी दिएकी हुन् ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति
पूर्वमन्त्री एवम् नेपाली कांग्रेस का पुर्व केन्द्रिय सदस्य बिष्णु बिक्रम थापाले कुशासन र भ्रष्टाचारको बेथितिले नै जेनजी आन्दोलन जन्मिएको बताएका छन्। चुनावी सभालाई सम्बोधन गर्दै थापाले देशको अखण्डता जोगाउन कांग्रेसलाई जिताउनुपर्ने धारणा राखे। यता, नेकपा एमालेका जनवर्गीय संगठनहरुले पार्टीको झण्डा जलाएको विरोधमा काठमाडौंमा मशाल जुलुस निकालेका छन् । दाङको तुलसीपुरमा पार्टीको झण्डा जलाएको विरोधमा उनीहरुले शुक्रबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा मशाल जुलुस निकालेका हुन् । यस्तै, एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। यता, प्रधानमन्त्री सुशीला कार्कीले आज गण्डकी प्रदेशका विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा गरेकी छन् । प्रधानमन्त्री कार्कीले मुस्ताङ जिल्लामा पुगेर मुक्तिनाथ मन्दिर, जोमसोम लगायतका क्षेत्रको अवलोकन गरेकी हुन् । उनले स्थानीय बासिन्दा, सुरक्षा निकायका प्रमुखहरू तथा निर्वाचन तयारीमा खटिएका कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गरेकी छन् ।

समाचार 
प्रतिनिधिसभा निर्वाचनमा खटिएका नेपाल प्रहरीतर्फको निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको हो ।  आज दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा  भेटिएका महादेवलाई उपचारका लागि  जिल्ला अस्पताल बैतडीमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । यता, पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा ६ हजार ६२२ विद्यार्थी दीक्षित भएका छन् । यस्तै, आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । यता, प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले आगामी फागुन २२ गते साधारण तारिखका लागि मिति तोकेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध १७ वटा रिट निवेदन परेका छन्। 

अपराध
यता, सिरहाको औरहीबाट प्रहरीले स्रोत नखुलेको १४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । औरही गाउँपालिका—५ स्थित औरही चोकमा गरिएको विशेष जाँचका क्रममा उक्त रकम बरामद भएको हो । यस्तै, प्रहरीले पशुपतिनाथ मन्दिर परिसरमा युवकको हत्या गरेको अभियोगमा एक जना भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । यही फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्थामा भेटिएका थिए । यता,  प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । रूपन्देहीको मायादेवी गाउँपालिका–१ वसन्तपुर बस्ने ३४ वर्षीय जगदिश कुर्मी र सोही मोटरसाइकल पछाडि सवार गैँडहवा गाउँपालिका–४ कुसुमहवा बस्ने ३१ वर्षीय महेश कुर्मीबाट उक्त लागुऔषध बरामद गरेको हो । यस्तै, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका छन्।

अर्थ
इन्द्रबहादुर बानियाँले हेटौँडामा राप्ती पुलदेखि रातमाटेको लच्कासम्म बाइपास सडक बनाउन प्रदेश सरकारले योजना तयार गरिरहेको बताएका छन् । स्थानीयसँग सहमति गरी आवश्यक बजेट छुट्याएर सडक निर्माण गरिने उनले जानकारी दिए । यता, रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा भन्सार महसुल तिरेर मात्र निकासी गर्न नेपाल प्रहरीले व्यवसायी तथा सवारीसाधनका चालकलाई आग्रह गरेको छ । नियमानुसार ल्याउन छुट भएका सामग्री कानुनी प्रक्रिया पूरा नगरी ओसारपसार गर्ने क्रम बढेपछि यस्तो आग्रह गरिएको हो । यस्तै, रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा भन्सार महसुल तिरेर मात्र निकासी गर्न नेपाल प्रहरीले व्यवसायी तथा सवारीसाधनका चालकलाई आग्रह गरेको छ । नियमानुसार ल्याउन छुट भएका सामग्री कानुनी प्रक्रिया पूरा नगरी ओसारपसार गर्ने क्रम बढेपछि यस्तो आग्रह गरिएको हो ।

खेलकुद
‘नेपाल एपिएफ स्कुल कीर्तिपुरको २१औँ स्थापना दिवस’का अवसरमा सञ्चालन भएको तेस्रो नेपाल एपिएफ स्कुल अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८२’कोे उपाधि सैनिक आवशीय महाविद्यालय सल्लाघारीले जितेको छ । आज भएको फाइनल प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय सल्लाघारीले नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई ६–१ गोलको अन्तरले पराजित गरी विजयी भएको हो । यता,  नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा हिमालयन जाभा नेसनल बास्केटबल लिग यही फागुन २६ गतेदेखि सुरु हुने भएको छ ।     दोस्रो संस्करणको उक्त प्रतियोगिता यही फागुन २६ देखि आगामी चैत २८ गतेसम्म हुनेछ ।

विश्व
डोनाल्ड ट्रम्प ले इरान को आणविक कार्यक्रम रोक्न दबाब दिन मध्यपूर्वमा ठूलो नौसैनिक तैनाथ गर्न आदेश दिएका छन्। यससँगै इरानमाथि सीमित आक्रमण गर्ने सम्भावनाबारे पनि उनले संकेत गरेका छन्। यता, रूसको साइबेरियास्थित बैकाल तालको हिउँमा शुक्रबार एक पर्यटक बस दुर्घटना हुँदा सात चिनियाँ पर्यटकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । रुसको विपद् व्यवस्थापन मन्त्रालयअन्तर्गतको एक क्षेत्रीय शाखाले सामाजिक सञ्जालमा एक विज्ञप्ति पोस्ट गर्दै बस तीन मिटर चौडा हिउँको चिरामा खसेर डुबेको जनाएको छ । यस्तै, उत्तर कोरियाली नेता किम जोङ उनले शुक्रबार सुरु भएको दुर्लभ वर्कर्स पार्टी सम्मेलनको उद्घाटन गर्दै जनताको जीवनस्तर सुधार्ने र राष्ट्रको आर्थिक विकास तीव्र पार्ने प्रतिज्ञा गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update