Harsamaya
फागुन ७: एमाले र रास्वपाको घोषणापत्र सार्वजनिकदेखि पूर्व राजकुमार एन्ड्रयु पक्राउसम्म
ग्राफिक्स: हर समय/Har Samaya

नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । एमालेले आफ्नो घोषणापत्रमा आर्थिक विकास, पूर्वाधार विस्तार, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकता दिएको छ। साथै सामाजिक सुरक्षा कार्यक्रम विस्तार र राष्ट्रिय गौरवका आयोजनालाई गति दिने योजना समेटिएको छ। रास्वपाले भने सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारलाई मुख्य एजेन्डा बनाएको छ। सेवा प्रवाहमा प्रविधिको प्रयोग, पारदर्शिता र नयाँ राजनीतिक संस्कार विकास गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरिएको छ। यस्तै काँग्रेस सभापति गगन थापाले भने हिजो जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रबारे प्रश्नउतर गरेका छन् । 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाह्रविसे क्षेत्रमा बृहत् युवा भेला गर्दै शक्ति प्रदर्शन गरेको छ। कार्यक्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) बाट ३२३ जना नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्। यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेसमा प्रवेश गरेका छन् । प्रतिज्ञापत्र प्रश्नउत्तर कार्यक्रममा पूर्वमन्त्री मानन्धरसहित नेकपा (एमाले) रसुवाका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य जनार्दन ढकाल, नेपाली कम्युनिष्ट पार्टीका नेता दिपक केसी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणयशम्शेर राणा कांग्रेसमा प्रवेश गरेका हुन् । यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै दलहरु एक भएर रास्वपासँग भिड्न चुनौती दिएका छन् । उनले कसको कति मान्छे आए भनेर रास्वासँग फोटो भिडाउने काम भएको भन्दै चुनावमा भिड नभई मतपत्र भिडाउने बताए । यस्तै, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालमा सिर्जना भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान एक मात्र दल कांग्रेस भएको बताएका छन् । मोरङ–१ मा कांग्रेस उम्मेदवार खड्ग फागोको मोरङको केराबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिलेको राष्ट्रिय संकट घडीमा सिकारुलाई देश जिम्मा लगाउने होइन, परिपक्व शक्तिलाई जिम्मा दिनुपर्ने बताए ।

समाचार
सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते भएका छन् । मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते भएका हुन् । मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा बालकलाई गोली लागेको हो । यस्तै, जाउलाखेल स्थित प्रहरी परिसर ललितपुरले आफ्नो जाहेरी नलिएर पीडकलाई साथ दिएको पीडितको गुनासो छ । पीडित जमुना खत्रीले पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले झुलाइरहेको भन्दै पीडा व्यक्त गरेकी छन् । यता, नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२६ सार्वजनिक गरिएको छ । समारोहमा सरोकारवालाहरुले नेपालमा पछिल्लो समय मानव अधिकारको अवस्था खस्किदै गएको औंल्याए । यता, काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। यस्तै, जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी गम्भीर घाइते भएका निर्वाचन प्रहरीलाई नेपाली सेनाको हेलिकोप्टरमा उद्धार गरी नेपालगन्ज लगिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका हिमा गाउँपालिका–२ का २१ वर्षीय धमेन्द्र रोकायालाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको हो 

खेलकुद
उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशाला खैलमैदानमा आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ महिला टिमले संकटा क्लब काठमाडौंविरुद्ध जित निकाल्दै एपिएफ फाइनलमा प्रवेश गरेको छ । आज भएको छैटौँ दिनको खेलमा एपिएफले संकटाविरुद्ध शून्यको विरुद्ध ३ गोल जित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको आयोजक एन्फाले बताएको छ । यता, जावलाखेल युथ क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाहुना टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० गोलले पराजित गर्दै जावलाखेल उपाधि नजिक पुगेको हो ।

विश्व
पोल्याण्डका प्रधानमन्त्री टस्कले आफ्ना सबै नागरिकलाई इरान तुरुन्त छोड्न आग्रह गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले सैन्य कारबाहीको संकेत गरेपछि उनले सम्भावित द्वन्द्व बढ्न सक्ने चेतावनी दिएका हुन्। यता, बेलायतका पूर्व राजकुमार प्रिन्स एन्ड्रयुलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनी बेलायतका राजा चार्ल्स तेस्रोका भाइ हुन् । यस्तै, अमेरिकाका ऊर्जा मन्त्री राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए) लाई ‘नेट–जिरो एजेन्डा’ त्याग्न दबाब दिँदै आवश्यक परे बाहिरिन सक्ने चेतावनी दोहोर्याएका छन्। यता, क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता भएका नौ स्की खेलाडीमध्ये आठ जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रतिकूल मौसमका कारण उद्धार कार्य अत्यन्त कठिन बनेको छ । मङ्गलबार बिहान क्यासल पिक क्षेत्रमा हिमपहिरो गएको थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update