संघीय राजधानी काठमाडौँ का आधाभन्दा बढी उम्मेदवारले हालसम्म निर्वाचन प्रयोजनका लागि बैंक खाता नखोलेको पाइएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म १२० जनाले मात्र निर्वाचनलक्षित बैंक खाता खोलेको विवरण प्राप्त भएको काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति
नेपाली कांग्रेसलाई सिन्धुपाल्चोकमा संगठनात्मक धक्का लाग्ने देखिएको छ। जिल्लाकी सक्रिय महिला नेतृ लीला नेपालले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि काँग्रेसलाई धक्का लागेको हो । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सुन्धाराबाट पक्राउ गरिएको हो। यता, मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं लाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ। यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा आज आयोजित कार्यक्रममा मतदातासामु प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले एमालेप्रति जनसमर्थन बढ्दै गएको बताए ।
समाचार
चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन् । वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रुवाहक बसमा शंका लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ । यता, सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गरेको आरोपमा एक जना कार चालक पक्राउ परेका छन् । भिडियो भाइरल भएपछि चालक पारस बमलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिनको म्याद थप भएको हो ।
यता, रामेछापको मन्थली नगरपालिका–६ लिलौतिको भिरबाट तामाकोशी नदीमा खसेको यात्रुबाहक बस दुर्घटनामा हराइरहेका थप एक जनाको शव फेला परेको छ । यस्तै, हायात रिजेन्सी अन्तर्गत सञ्चालित ‘क्यासिनो प्राइड’मा भएको लुटपाट प्रकरणमा संलग्न आरोपित १० जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। मंगलबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतले मुख्य प्रतिवादी दावा शेर्पा ‘सेठ्ठी’, रञ्जित खड्गी ‘रने’ र दोर्जे शेर्पासहित १० जनालाई थुनामा पठाउने आदेश दिएको हो। यता, आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो । यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११७९ नम्बरको टिपरले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रूपन्देही जिल्ला निवासी २८ वर्षीय जगदीश थारुको मृत्यु भएको हो । यता, सुर्खेत प्रहरीले पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगरमा लागुऔषधबारे ‘विशेष अप्रेसन’मार्फत तीनजना लागुऔषध कारोबारका आरोपीलाई नियन्त्रणमा लिएको छ । आज बिहान चिङ्गाड गाउँपालिका–४, का ४७ वर्षीय ललित चन्दलाई हवाई फायर गरेर नियन्त्रणमा लिएको हो ।
अर्थ
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २० दशमलव ७५ अंकले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो। यता, प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई-मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छिन् ।ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका तर्फबाट चासो व्यक्त भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी हुन् । यस्तै, नेपाली बजारमा आज सुन मूल्य घटेको छ । भने चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
खेलकुद
गाईघाटस्थित जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा काठमाडौँको संकटा महिला क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको संकटा र चर्च ब्वाइज युनियनबीचको खेलमा संकटाले चर्च ब्वाइजलाई १ को विरुद्ध ४ गोलले पराजित गरेको हो । यता, पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै पाहुना टोलीले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भयो । यस्तै, आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई हराउन नेपालले १७१ रनको लक्ष्य पाएको छ । भारतको मुमबईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको हो ।
विश्व
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित आफ्नो दाबीहरू अघि बढाएपछि मङ्गलबार तेलको मूल्य बढेको छ। दुई देशबीच जेनेभामा इरानको परमाणु कार्यक्रमसम्बन्धी नयाँ वार्ता भइरहेको छ । पश्चिम टेक्सास इन्टरमिडियेट तेलको मूल्य प्रति बैरल १.५ प्रतिशत बढेर ६३.८० डलर पुगेको छ भने ‘अन्तर्राष्ट्रिय मानक ब्रेन्ट नर्थ सि क्रूड’ले पनि सानो वृद्धि देखाएको छ । यस्तै, नाइजेरिया ले आफ्ना नागरिकहरूलाई विदेशमा युद्धमा सहभागी गराउने भन्दै रुस को सेनामा भर्ती गराइदिने नाममा हुने ठगीबाट सावधान रहन आग्रह गरेको छ। अन्य अफ्रिकी देशका नागरिकहरू पनि यस्तै प्रकारका ठगीको शिकार बनेका तथ्यहरू सार्वजनिक भएका छन्।


