Harsamaya
फागुन ४: प्रसाईं पुन: पक्राउदेखि लामिछानेको मुद्दा फिर्ता नहुनेसम्म
ग्राफिक्सः हर समय/Har Samaya

जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण स्वास्थ्य मन्त्रालयले गरेको छ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, हालसम्म कात्तिक–मङ्सिरमा १८३, पुसमा १६ र माघमा १ जनाको वर्गीकरण गरिएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार जेनजी प्रदर्शनका क्रममा कुल २ हजार ५९९ जना घाइते भएका थिए।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति
कास्की जिल्ला अदालतले सञ्चारकर्मी रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ। सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयद्वारा पेस गरिएको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो निर्णय गरेको हो। यता, विराटनगर नेपाली कांग्रेसका प्रभावशाली नेता एवं मोरङ क्षेत्र न.६ का कांग्रेसका उमेदवार डा. शेखर कोइरालाले गएको २०७९ को चुनावमा आफूले पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज संञ्चालन गर्ने प्रतिबद्धता जनाए अनुरुप ५० विद्यार्थी भर्ना  भएकोमा खुशी व्यक्त गरे । यस्तै, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन धनभन्दा नीति प्रधान हुनुपर्ने बताएका छन् । निर्वाचन आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीतिलाई प्रधानता दिएर दल र उम्मेदवार परिचालित हुनुपर्नेमा जोड दिए । यता, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन् । झापा क्षेत्र नं ३ स्थित हल्दिबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका हुन् ।  

समाचार
प्रेस काउन्सिल नेपाल ले चितवन निर्वाचन क्षेत्र नम्बर ३ को नतिजासम्बन्धी सामग्री प्रकाशन गरेको भन्दै अनलाइन पोर्टल सेतोपाटी डटकम विरुद्ध कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। आइतबार सेतोपाटीले ‘चुनावी विश्लेषण’ शीर्षकमा मत सर्वेक्षणको शैलीमा उम्मेदवारको नाम किटान गर्दै ‘जित्नेछन्’ भन्ने आशयसहित समाचार सम्प्रेषण गरेको भन्दै काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। यस्तै,  मादकपदार्थ सेवन गरी पोखराका विभिन्न स्कुल बस चलाउने पाँच चालकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा माउण्ट हेवन बोर्डिङ स्कुलको ग१क ३६७४ नं बसका चालक ३३ वर्षीय आनन्द परियार र कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग१क १३८२ नं बसका चालक ३७ वर्षीय गौतम गुरुङ रहेका छन् । यस्तै, मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। उनी सोमबार आफ्नै घरबाट पक्राउ परेका हुन्। प्रहरीले प्रसाईंलाई पक्राउ गर्नुको कारण हालसम्म सार्वजनिक गरेको छैन। यस्तै, नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट पेस्तोल र गोलीसहित कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । यस्तै, सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ स्थित सानो याक्र्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु भएको छ ।  स्काभेटर चालक चिचिला गाउँपालिका–३ दिदिङका ३८ वर्षीय देवराज राईको घटनास्थलमै मृत्यु भएको हो ।

अर्थ
कर्णाली प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका स्वास्थ्य संस्था, विद्यालय निर्माण गर्ने भएको छ । विसं २०८० कात्तिक १७ मा जाजरकोटको रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय, स्वास्थ्य संरचना निर्माण गर्न लागिएको छ । यता, लहान नगरपालिका–१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा करिब ३० बिघा उखु जलेर नष्ट भएको छ। प्रारम्भिक विवरण अनुसार २५ किसानले करिब १ करोड १६ लाख बराबरको क्षति भोगेका छन्। यस्तै, नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ । आज नेपाल पर्यटन बोर्डको सभाहलमा दुवै पक्षले संयुक्त प्रवद्र्धन, ज्ञान आदान–प्रदान तथा दिगो पर्यटन विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । यता, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक आठ दशमलव १६ अंकले घटेर दुई हजार ६६२ दशमलव ९१ को बिन्दुमा कायम भएको छ 

खेलकुद
मच्छिन्द्र फुटबल क्लब काठमाडौँले सातौँ झापा गोल्डकप फुटबलमा सशस्त्र प्रहरी (एपीएफ) क्लबलाई ३–१ गोलअन्तरले हराउँदै उपाधि हात पारेको छ।उपाधिसँगै मच्छिन्द्रले १५ लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एपीएफले ७ लाख ५० हजारमा चित्त बुझाएको छ। यस संस्करणको झापा गोल्डकप हालसम्मकै सबैभन्दा उच्च पुरस्कार राशि भएको प्रतियोगिता मानिएको छ।यता, मनाङ मस्र्याङदी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 
पोखरा रङ्गशालामा आज सम्पन्न क्वाटरफाइनलको तेस्रो खेलमा पाहुना टोली भारत सिक्मिमको थण्डरबोल्ड नर्थ युनाइटेडमाथि १–० को कठिन जित निकाल्दै मनाङले अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

विदेश
 मस्कोको उत्तरी क्षेत्रमा रहेको एक कार्यालय भवनमा आगलागी भएको छ। समाचार तयार पार्दासम्म भवनबाट १६ जनाको उद्धार गरिएको रुसी आपतकालिन व्यवस्था मन्त्रालयले सोमबार जानकारी दिएको छ। आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको छ। आगलागी भवनको चौथो तलामा सुरु भएको र करिब ८० वर्गमिटर क्षेत्रफलमा क्षति पुगेको बताइएको छ। यता,  बंगलादेशको प्रधानमन्त्रीका रूपमा तारिक रहमानको सपथग्रहण समारोहमा भारतको प्रतिनिधित्व लोकसभा सभामुख ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले गर्ने भएका छन्। भारतको विदेश मन्त्रालय र बीएनपी (बङ्गलादेश नेसनलिस्ट पार्टी)को सञ्चार शाखाले यसलाई औपचारिक रूपमा पुष्टि गरेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update