आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलहरूले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाउने क्रम जारी राखेका छन् ।आज नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल, प्रलोपा र नेपाल मजदुर किसान पार्टीले घोषणापत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केही दिनभित्रै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् भने अन्य दलहरूले यसअघि नै सार्वजनिक गरिसकेका छन्।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति
यस्तै, ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्षहरु सुदन किराती, दुर्गा सोब र सन्तोष परियार लगायतले संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । यस्तै, निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई फागुन ४ देखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा प्रचार सामग्री प्रकाशन वा घरदैलो कार्यक्रम गर्न अनुमति दिएको छ। निर्वाचन अवरोध, मतदान अधिकार रोक्ने वा उम्मेदवारीमा बाधा पुर्याउने कार्य नगर्न पनि निर्देशन दिएको छ । आयोगले कुनै पनि धर्मको नाममा प्रचारप्रसार नगर्न नगराउन र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार नगर्न वा मत नमाग्न निर्देशन जारी गरेको छ । राजनीतिक दल र दलका प्रतिनिधिका नाममा जारी गरेको ६४ बुँदे निर्देशनमा कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने उल्लेख छ ।
समाचार
प्रधानमन्त्री शुसीला कार्कीले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेकी छन् । महाशिवरात्रि २०८२ का अवसरमा प्रधानमन्त्रीले आइतबार अपरान्ह् पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेकी हुन् । यता, बँदेलको आक्रमणविरुद्ध परेको रिटमा उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले उक्त रिटमा विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीश खेमराज भट्टको एकल इजलासले उक्त आदेश जारी गरेको हो । यस्तै, मङ्गलवार रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको तीव्र रूपमा खोजी भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताकोर टोलीले बस दुर्घटनास्थल तामाकोशी र सुनकोशी नदीका विभिन्न क्षेत्रमा खोजी तीव्र बनाइएको हो । यता, सेना दिवसमा विदेशी सेनाले टुँडिखेलमा दिएको प्रस्तुतिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । धेरैले अमेरिकी सेना आएर परेड खेलेको भनेर सेनाको आलोचनासमेत गरेका छन् । केहीले यसलाई एमसीसी आएपछि अमेरिकी सेना नेपाल आएको भनेर सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । तर नेपाली सेनाले भने यो नियमित ब्याण्ड पर्फमेन्स भएको जनाएको छ ।
स्वास्थ्य
सरकारले किशोरीहरूलाई पाठेघरको क्यान्सर रोकथामका लागि एचपिभी खोप लगाउन आग्रह गरेको छ। प्रा डा रमेशकान्त अधिकारी ले भ्रामक सूचनामा नपरेर खोप लगाउनुपर्ने बताएका छन् । अभियान कक्षा ६ र १० वर्षका किशोरीलाई फागुन १५ गतेसम्म सञ्चालन हुनेछ। यता, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गरेको छ । स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशबाट खटिएको अनुगमन टोलीले गरेको मूल्याङ्कनका आधारमा चिकित्सालयले उक्त उपलब्धि हासिल गरेको हो ।
खेलकुद
जावलाखेल युवा क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकप को सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रङ्गशालामा भएको क्वाटरफाइनलमा जावलाखेलले अपि चर्च ब्वाइज युनाइटेड लाई ३–० ले पराजित गर्यो। यस्तै, गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम प्रदेशको टोलीले सेमिफाइनलमा स्थान बनाएको छ । सुदूरपश्चिमले आजको खेलमा कोशी प्रदेशलाई ६१ रनले पराजित गरेको हो। टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो भने जवाफी ब्याटिङमा कोशी ९९ रनमा अलआउट भयो। यता, शेर्पा समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा आयोजित १५औँ खुम्बू ल्होसार कप–२०२६ फुटबल प्रतियोगिताको उपाधि महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकले हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न फाइनल खेलमा नाम्चे युथ क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै फराकले उपाधि जितेको हो । यस्तै, जारी टी–२० विश्वकप अन्तर्गत नेपालले आज वेस्ट इन्डिजसँग ९ विकेटले हार व्यहोरेको छ। वेस्ट इन्डिजले लगातार तीन जितसहित समूह ‘सी’ बाट सुपर एट प्रवेश सुनिश्चित गरेको छ, जबकि नेपाल एक खेल अगावै सुपर एट दौडबाट बाहिरिएको छ। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो।
विदेश
मध्य नाइजेरियाको एडो क्षेत्रस्थित सेन्ट जोन्स रोमन क्याथोलिक चर्चबाट गत हप्ता अपहरण गरिएका नौ बालबालिका स्थानीय अधिकारीहरूले मुक्त गरिएको बताएका छन्। बालबालिकाहरू फेब्रुअरी ८ मा प्रार्थना गरिरहेका बेला बन्दुकधारीहरूले अपहरण गरेका थिए। यस घटनाले नाइजेरियामा सामूहिक अपहरणको समस्यालाई अझ उजागर गरेको छ र संयुक्त राज्य अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायमा सुरक्षा सुधारका लागि दबाब बढाएको छ। यता, चीनले क्यानडा र बेलायतका साधारण राहदानीधारक नागरिकलाई भिसा–मुक्त यात्रा सुविधा दिने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालय का प्रवक्ता अनुसार यो नीति सन् २०२६ फेब्रुअरी १७ देखि लागू हुनेछ र सीमापारबाट चीन भ्रमण अझ सहज बनाउने उद्देश्य राखिएको छ। यस्तै, इरानले अमेरिकी नाकाबन्दी फुकुवाको सर्तमा अत्यधिक समृद्ध युरेनियम भण्डारमा सम्झौता गर्न तयार भएको जनाएको छ। माजिद तख्त–रभाञ्ची ले आइतबार बीबीसीसँगको अन्तर्वार्तामा उक्त तयारीको जानकारी दिएका हुन्।


