यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । शुक्रबारसम्म ६३ जिल्लाको मतपत्र छपाइ सकिएको थियो । आज थप तीन जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । अब ११ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : नेपाली कांग्रेसले आमनिर्वाचन २०८२ लक्षित प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीलाई सम्बोधन गर्दै प्रतिज्ञापत्र केन्द्रीय कार्यालयबाटै जारी हुने जानकारी गराएका हुन् । उनका अनुसार निर्वाचन आयोगले तोकेको तालिकाअनुसार फागुन ४ गतेदेखि कांग्रेसले देशव्यापी चुनावी प्रचार अभियान औपचारिक रुपमा सुरु गर्नेछ । यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धतासहित मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् । शनिबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रमार्फत नेकपा एमाले अध्यक्ष ओलीले विदेशी हस्तक्षेप अन्त्य गर्ने, जनताका खोसिएका अधिकार पुनःस्थापना गर्ने र देशमा देखिएको निराशा हटाई नागरिकको मनोबल बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन् । रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बङ्गलादेशमा हालै सम्पन्न निर्वाचन परिणाबारे टिप्पणी समेत गरे । यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संकल्प पत्र सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी संकल्प पत्र सार्वजनिक गरेको हो ।
समाचार : पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ। पशुपति क्षेत्र सजिसजाउ गरेर चिरिच्याट्ट बनाइएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार आइतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका तयारी गरिएको हो । शिवरात्रीका लागि साधुसन्तहरु पशुपति मन्दिर परिसर आइसकेका छन्। यस्तै, म्याग्दीको मङ्गला–२ सल्यानमा माटोको ढिस्कोले पुरिएर रोल्पाका २८ वर्षीय सत बुढामगरको मृत्यु भएको छ। साथमा पुरिएका टेकवीर र केशमान बुढामगरलाई उद्धार गरी प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ।
यता, बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको भ्यान दुर्घटनामा घाइते १३ वर्षीय सुजल छन्त्यालको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ। यससँगै बिहीबारको दुर्घटनामा मृत्यु हुने विद्यार्थीको संख्या दुई पुगेको छ। यस्तै, प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन् । नेपाली सेनाका सकल दर्तालाई शुभकामनासहित सम्बोधन गर्दै उनले नेपाली सेनाले विभिन्न क्षेत्रहरुमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन समेत विशेष निर्देशन दिए ।
खेलकुद : कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा सञ्चालन भएको ‘पिस एन्ड युनिटी रन’ प्रतियोगिताको उपाधि अर्जुन बुढा र विमला कार्कीले प्राप्त गरेका छन् । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा उत्तर पश्चिम पृतना निमारे ब्यारेक सुर्खेतद्वारा आज आयोजित प्रतियोगितामा डोल्पा बुढाले पुरुष १० किलोमिटर दौड खुलातर्फ ३१ मिनेट १७ सेकेन्डमा पार गरी प्रथम भएका हुन् । महिलातर्फ कार्कीले ४१ मिनेट तीन सेकेन्डमा उक्त दूरी पूरा गरी प्रथम भएका थिइन् । यता, पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो क्वार्टरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई सडन डेथमा ६–५ गोलअन्तरले हराउँदै सहारा अगाडि बढेको हो। यस्तै, झापा गोल्डकपमा चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलबाटै घर फर्किएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी सातौँ झापा गोल्डकपअन्तर्गत आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबसँग ४-० को फराकिलो गोल अन्तरले पराजित हुँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलबाट बाहिरिएको हो ।
विदेश : बंङ्गलादेशको राजनीतिक सङ्क्रमणपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा पराजित जमात–ए–इस्लामीले अन्ततः नतिजा स्वीकार गरेको घोषणा गरेको छ। विपक्षी बङ्गलादेश नसनालिस्ट पार्टी (बिएनपी) ले स्पष्ट बहुमतसहित विजय हासिल गरेको थियो। यता, नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीको स्वास्थ्यप्रति चिन्ता बढेपछि इरानले उनलाई पूर्व चेतावनी नदिई उत्तरी जेलमा स्थानान्तरण गरेको छ। मोहम्मदीलाई इस्लामिक धार्मिक नेतृत्वविरुद्ध बोलेको र हालैको सरकारविरोधी आन्दोलनमा नागरिकलाई उक्साएको आरोपमा डिसेम्बर १२ मा पक्राउ गरिएको थियो। यस्तै, नेटोका महासचिव मार्क रुटले म्युनिख सुरक्षा सम्मेलनमा भने, युरोपमा कसैले पनि अमेरिकाको परमाणु छहारीको प्रतिस्थापनको बहस गरिरहेका छैनन् । उनले सबैले अमेरिका अन्तिम संरक्षक भएको महसुस गरिरहेको र अन्य छलफलहरू थप सुरक्षा सुनिश्चित गर्नका लागि भइरहेको स्पष्ट पारे ।
यो पनि पढ्नुहोस


