काठमाडौँ - रामचन्द्र पौडेल ले राष्ट्रिय क्याडेट कोर (एनसीसी) ले युवामा राष्ट्रियता, देशभक्ति, नेतृत्व र आत्मविश्वास विकासमा सकारात्मक भूमिका खेलेको बताएका छन्। शीतल निवासमा आयोजित एनसीसी युथ एक्सचेन्ज कार्यक्रममा उनले एनसीसीले युवालाई अनुशासित, जिम्मेवार र भविष्यका नेतृत्वकर्ताका रूपमा विकास गरिरहेको उल्लेख गरे ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
निर्वाचन : राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रवन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गरेका छन् । यता, सर्लाहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिने भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाही मा बसेको सुरक्षा अधिकारी र राजनीतिक दलहरूको बैठकले फागुन १५ देखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका दुई र चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। यस्तै, निर्वाचन खर्च पारदर्शी बनाउन दल र उम्मेदवारले छुट्टै बैंक खाता खोली निर्वाचन आयोग मा विवरण बुझाउन थालेका छन्। आयोगका सहसचिव यज्ञप्रसाद भट्टराई का अनुसार हालसम्म ४५४ उम्मेदवार र चार दलले बेग्लै बैंक खाताको जानकारी गराएका छन्। निर्वाचनमा कुल तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। यता, जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको घोषणापत्रमा सामाजिक न्याय, समावेशिता, समान अवसर र पारदर्शी शासनमार्फत लोककल्याणकारी राज्य निर्माण गर्ने मूल लक्ष्य प्रस्तुत गरिएको छ । घोषणापत्रमा सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख गरिएको छ ।
राजनीति : विश्वप्रकाश शर्मा ले देश बदल्ने जनताको सपना अब नेपाली कांग्रेस ले साकार पार्ने बताएका छन्। पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा उनले कांग्रेस बदलिएको दाबी गर्दै यस पटक १६५ मध्ये १०६ नयाँ उम्मेदवार उठाइएको र महिला तथा दलित समुदायको प्रतिनिधित्व बढाइएको बताए। यस्तै, स्वर्णिम वाग्ले ले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति वाग्लेले भानु–५ नागनगिनीमा आयोजित कार्यक्रममा आफू जनहितका योजनासहित निर्वाचनमा होमिएको बताए। उनले सांसदको काम ऐन–नियम बनाउनु भएकाले काठमाडौँ बसाइँलाई अन्य रूपमा नबुझ्न आग्रह गरे। यता, नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ प्रतिज्ञापत्र यही फागुन ३ गते सार्वजनिक गर्ने भएको छ । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो प्रतिज्ञापत्र फागुन ३ गते दिउँसो २ बजे सार्वजनिक गर्ने जनाएको छ ।
समाचार : दार्चुलाको शैल्यशिखर–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक गौरब महत का अनुसार २३ वर्षीय उमेश साउद र २३ वर्षीय गोपाल नाथलाई गरगहना लुटपाटसहित हत्या अभियोगमा पक्राउ गरिएको हो। यता, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर रु ८० लाख ठगी गरेको आरोपमा जटाधर राउत, थमराज नेपाली र रामकुमार राई पक्राउ परेका छन्। उनीहरूलाई बिहीबार सार्वजनिक गरी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ। यस्तै, स्थानीय प्रशासनको आह्वानअनुसार यहाँका स्थानीयले इजाजत प्राप्त ४२ थान हतियार प्रशासनलाई बुझाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार भरुवा बन्दुक र सटगनलगायत हतियार बुझाइएको हो। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य ले हतियार बुझाउने क्रम जारी रहेको बताउँदै निर्वाचनअघि सबैलाई हतियार बुझाउन आग्रह गरेका छन्। यस्तै, नेपाल अरनिको यातायात सेवा प्रालि ले काठमाडौं–खुर्कोट–मन्थली रुटका आफ्ना सबै क्यू बस सेवा अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ। रामेछापको मन्थली–६ मसानटारमा भएको बस दुर्घटनापछि सुरक्षा जोखिम देखाउँदै अर्को सूचना नआएसम्म सेवा रोकेको कम्पनीले जनाएको हो। उक्त दुर्घटनामा १२ जनाको मृत्यु, सात जना घाइते र तीन जना बेपत्ता भएका छन्। यता, सिरहाको मिर्चैया–६ कटारी चोकबाट ५२ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय सिरहा का अनुसार भारत, विहारको मधुवनीका २१ वर्षीय मोहमद नजरुल मियाँलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।
अर्थ : गौरस्थित करदाता सेवा कार्यालय खारेज गरी कागजात र फर्निचर आन्तरिक राजस्व कार्यालय सिमरा लैजान खोजिएपछि शुक्रबार गौरमा तनाव भएको छ। सुरक्षाकर्मीको उपस्थितिमा ट्रकमा सामान लोड गर्दा स्थानीय उद्योगी, व्यापारी र राजनीतिक दलका प्रतिनिधिले अवरोध गरेका थिए। विरोधपछि सामान पुनः कार्यालयमै फर्काइएको छ। यता, कानुन मन्त्री अनिलकुमार सिन्हाले महिलालाई रोजगारीको अवसर दिने मात्र नभई रोजगारदाता र नेतृत्वकर्ता बनाउनु अपरिहार्य रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आइएमई लाइफ न्यूबिज बिजनेस वुमन समिट एण्ड अवार्ड –२०२६ लाई सम्बोधन गर्दै उनले महिला उद्यमशिलता अर्थतन्त्र विस्तारको साधन मात्र नभई ,सामाजिक रुपान्तरणको बलियो आधार पनि भएको बताए । यता, कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न आवश्यक अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न १० जिल्लामा स्थलगत अध्ययन थालेको हो । अध्ययनका क्रममा गहुँ उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादनलागत आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ ।
खेलकुद : नेपाल हक्की संघको आयोजनामा दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ। महासतिव सुवर्ण श्रेष्ठ का अनुसार पुरुषतर्फ गण्डकी, कोशी, मधेस, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी छ टिम सहभागी हुनेछन्। महिलातर्फ पाँच टिमबीच राउन्ड रोविन लिगपछि शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। यस्तै, पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा प्लानिङ ब्वाइज युनाइटेड ४–० ले फ्रेण्ड्स क्लबलाई हराउँदै क्वाटरफाइनलमा पुगेको छ। पापा इबु केबेको ह्याट्रिकमा प्लानिङले फराकिलो जित निकालेको हो। एलेक्स विलियनले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए भने केबेले तीन गोल गर्दै जित सुनिश्चित गरे।
विदेश : बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले २०२४ को विद्रोहपश्चात भएको पहिलो निर्वाचनमा भारी जित हासिल गरेको छ। निर्वाचन आयोगका अनुसार बीएनपी गठबन्धनले ३०० मध्ये २१२ सिट जितेको छ भने जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ।बीएनपी नेता तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएका छन्। उनले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना को शासनपश्चात आफ्नो पार्टी पुनः सत्तामा फर्कने विश्वास व्यक्त गरेका थिए। बङ्गलादेशको ३५० सदस्यीय संसद्मा ५० सिट महिला प्रतिनिधित्वका लागि आरक्षित छन्। यता, संयुक्त राज्य अमेरिकाको दक्षिणी साउथ क्यारोलिना स्टेट युनिभर्सिटी मा भएको गोली हानाहानमा दुई जनाको मृत्यु भएको र एक घाइते भएको अधिकारीहरूले जनाएका छन्। ह्युगिन सुइट्स आवासीय कम्प्लेक्समा भएको घटनापछि क्याम्पस लकडाउन गरिएको छ। विश्वविद्यालयले पीडित र घाइतेको विवरण अहिलेसम्म पुष्टि नगरेको जनाएको छ। स्थानीय कानून प्रवर्तन एजेन्सीले क्याम्पसमा गस्ती गर्दै सहयोग गरिरहेको र शुक्रबारका कक्षाहरू रद्द गरिएको जानकारी विश्वविद्यालयले दिएको छ।

